close

शितगंगामा अब बन्नेछन्, एउटै मापदण्डमा सडक : नगरप्रमुख पौडेल (भिडियो कुराकानी)

शितगंगामा अब बन्नेछन्, एउटै मापदण्डमा सडक : नगरप्रमुख पौडेल (भिडियो कुराकानी)

ADVERTISEMENT

अर्घाखाँची । शितगंगा नगरपालिका लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ ।

४३ हजार ३ सय ७३ जनसंख्या रहेको शितगंगा क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठुलो नगरपालिका हो । ६१०.४ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो नगरपालिका नेपाल कै कतिपय जिल्लाभन्दा ठुलो छ । यस नगरपालिकाको पूर्वमा पाल्पा, पश्चिममा प्युठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला छन् । पहाड तथा हिमाली क्षेत्रलाई तराई मधेससँग जोड्ने यो नगरपालिकाको उत्तरमा महाभारत पर्वत शृङ्खला र दक्षिणमा चुरे भावर क्षेत्र तथा सानातिना नदी र बेँसीहरू छन् । १४ वटा वडा रहेको शितगंगाले भौगोलिक विकटताका कारण विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । 

यस नगरपालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनबाट नगर प्रमुखमा छविलाल पौडेल निर्वाचित भएका छन् । पौडेलले आफ्ना सामु चुनौतीका चाङ रहेपनि जनआकांक्षा बमोजिम सबै क्षेत्रको विकास गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नगरप्रमुख पौडेलले अघि सारेका नीति तथा कार्यक्रममा पनि पटके र छर्ने बजेटभन्दा पनि देखिने खालको विकासका योजना बढी छन् । नगरपालिकाको योजनाका सूचीहरू ८५० को हाराहारीमा रहेपनि पौडेलले ४ सय योजना मात्रै अघि सारेका छन् । उनी बजेट छरेर विकास नहुने भएकाले ठोस योजनासहित अघि बढेको बताउँछन् ।

शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक र पूर्वाधारको विकासलाई उनले प्राथमिकता राखेका छन् । पूर्वाधारको विकाससँगै मानव विकासमा पनि उनको जोड छ । नगरप्रमुख पौडेलले आफ्ना नगरभित्र ८४ वर्ष उमेर पुगेका बृद्धबृद्धाहरुको सम्मानका लागि उनीहरूको ८४ पूजा गर्न नगरपालिकाबाट २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गरिसकेका नगरप्रमुख पौडेलले केन्द्र सरकारको एक घर एक धाराको नीतिलाई निरन्तरता दिने बताए । जसका लागि लिफ्टीङ्ग मार्फत घर घरमा खानेपानी पुर्‍याइनुका साथै स्थानीयको ७५ प्रतिशत विद्युतको महसुल नगरपालिकाले नै व्यहोर्ने निर्देशिका नै तयार पारिएको छ । 

त्यसैगरी सुशासन कायम गर्न पहिले आफैँ अनुशासित बन्नुपर्ने धारणा राख्ने नगर प्रमुख पौडेलले शून्य सहनशीलताको नीति अवलम्बन गरेको दाबी गरेका छन् । उनले शितगंगााभरी निर्माण गरिने सडक एउटै प्रकार र एउटै मोडलमा निर्माण गर्न सोही अनुरूप मापदण्ड बनाएर अघि बढ्ने दाबी समेत गरेका छन् । कृषिको प्रचुर सम्भावना बोकेको यस नगरपालिकाका खेतीका लागि सम्भव रहेको वडाका किसानहरूलाई उत्पादनमा अभिप्रेरित गर्ने र सोही अनुसार नगरपालिकाले ब्राण्डीङ्ग गरेर बजार प्रवर्द्धन गर्ने योजना बनाइएको छ । १४ वटै वडामा स्वास्थ्य संस्था रहेको शितगंगामा सरकारले निःशुल्क वितरण गरिरहेका औषधीहरूको कहिल्यै अभाव नहुने गरी योजना अघि सारेको उनको धारणा छ ।

यस्तै विषयको सेरोफेरोमा रहेर पालिकाखबरकर्मी जनकराज पण्डितले शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश ।