close

अवसर पाए महिलाले पनि नेतृत्व गर्न सक्छन् : अध्यक्ष चिदी (भिडियो कुराकानी)

अवसर पाए महिलाले पनि नेतृत्व गर्न सक्छन् : अध्यक्ष चिदी (भिडियो कुराकानी)

ADVERTISEMENT

पाल्पा । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेको तर्फबाट ६ हजार ४ सय ६६ मत ल्याएर  अध्यक्षमा सरस्वती दर्लामी चिदी निर्वाचित भएकी छन् । 

यसअघि सोही गाउँपालिकाको उपाध्यक्षको अनुभव संगालेकी चिदीसँग समृद्ध गाउँपालिका निर्माणका लागि धेरै योजना र अभियानहरू छन्। महिलाहरूले पनि अवसर पाए समाज र देशका लागि नेतृत्व गर्न सक्छन् भन्ने अध्यक्ष चिदीको स्पष्ट धारणा छ । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, महिला अधिकारका विषयलाई मुख्य प्राथमिकतामा राखेकी छन् ।  

यो गाउँपालिका धेरै सम्भावना बोकेको पालिका भएको हो ।  पाल्पा जिल्लाका दश वटा स्थानीय तह मध्ये सदरमुकाम तानसेनदेखि ७ किलोमिटर उत्तरपूर्वमा गाउँपालिकाको केन्द्र रहेको छ । बगनासकालीको पूर्वमा रम्भा गाउँपालिका¸ पश्चिममा तानसेन नगरपालिका¸ उत्तरमा कालीगण्डकी नदी र दक्षिणमा माथागढी गाउँपालिका छन् । साबिकका नौ वटा गाविसहरू यस गाउँपालिकामा समेटिएर हाल नौ वटा वडा कायम भएका छन् । 

अध्यक्ष चिदीले पालिकालाई समृद्ध बनाउनकै लागि लक्षित वर्गको आर्थिक विकास, सामाजिक विकास र सशक्तीकरणमा मुख्य जोड दिइएको बताइन् । अहिले पनि बगनासकालीमा खानेपानीको चरम अभाव हुने गरेको छ । कालीगण्डकी नदीबाट ‘लिफ्टिङ’ गरेर एक घर एक धारा अभियानमार्फत शुद्ध खानेपानी वितरण गर्ने योजना रहेको छ ।

कृषि, पशुपालन मार्फत र युवा स्वरोजगारका कार्यक्रमहरू सञ्चालन गर्ने, एकल महिला र एकल महिला मध्ये पनि युवा एकल महिला र विपन्न एकल महिलाहरूलाई आर्थिक आय आर्जनका लागि सीपमूलक तालिमहरू सञ्चालन गरेर व्यवसायी बनाउने सो स्थानीय तहको योजना छ । 

यो गाउँपालिका बालमैत्री, पूर्ण र संस्थागत सुत्केरी गाउँपालिका घोषणा भइसकेको छ । यसलाई पूर्ण कार्यान्वयनको निरन्तरता दिने योजना अध्यक्ष चिदीको छ । महिला, दलित, आदिवासी लगायत विभिन्न क्षेत्रका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि उनी निरन्तर खटिरहेकी छन् । 

गाउँपालिकाका ९ वटै वडासम्म जोड्ने सडकहरू धूलो र हिलाम्य छन् । सबै सडकहरू स्तरोन्नति गर्ने, मूल बाटाहरू कालोपत्रे गर्न प्रदेश र संघसँग पालिकाले समन्वय र पहल थाल्ने योजना बनाएको छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य भर्खरै सुरु भएको छ । भवनलाई सम्पन्न गरेर एकै स्थानबाट सेवा प्रवाह गर्ने, सबै सेवाहरू विकेन्द्रित गर्दै गाउँ, वडा र बस्तीसम्मै पुर्‍याइनेछ । कार्यहरूले मूर्तरूप लिएको खण्डमा बगनासकाली गाउँपालिकाको मुहार फेरिने अध्यक्ष चिदीको विश्वास छ । 

प्रस्तुत छ, पालिकाखबरकर्मी जनकराज पण्डितले बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी (चिदी) सँग गरेको कुराकानीको सम्पादित अंश ।