close

जलेश्वरको दुर्दशा (भिडियो रिपोर्ट)

जलेश्वरको दुर्दशा (भिडियो रिपोर्ट)

ADVERTISEMENT

काठमाडौं । देश संघीयतामा गएसँगै बनेका स्थानीय सरकारहरूलाई आफ्नो पालिकालाई समृद्ध बनाउने पूर्ण अधिकार छ । विकास र समृद्धिका खाका कोर्न आफ्नै कानुन बनाउने अधिकार समेत छ । तर, स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता के हो भन्ने बुझ्न नसके स्थानीय तहले समृद्धिको बाटो तय गर्न सक्दैनन् । यसको पछिल्लो उदाहरण बनेको छ, महोत्तरीको जलेश्वर नगरपालिका ।

महोत्तरीको जलेश्वर नगरपालिकामा अवस्थित जलेश्वर मन्दिर हिन्दुधर्माबलम्बीका लागि आस्थाको केन्द्र हो । तर, नगरपालिकाको लापरबाहीका कारण जलेश्वर क्षेत्रको निकै दुर्दशा हुन थालेको छ । 

महोत्तरी जिल्ला कै सबैभन्दा पुरानो बजार, सदरमुकाम, धार्मिक महत्त्वका आधारमा सम्पन्न जलेश्वरलाई बाहिरबाट हेर्नेहरूले यही आधारमा बुझ्छन् । तर, एक पटक जलेश्वर भ्रमण गरेपछि यत्रतत्र देखिने फोहोर, अव्यवस्थित बजार, अस्तव्यस्त ट्राफिक जाम जस्ता समस्याले सर्वसाधारण र स्थानीयलाई नाक खुम्च्याउने बाध्य बनाउँदै आएको छ । 

यस्तो अवस्थामा धार्मिक पर्यटकहरूले समेत मन खल्लो बनाएर मन्दिरको दर्शन गर्नुपर्ने बाध्यता छ । अहिले पनि जलेश्वरमा २ दर्जनभन्दा बढी सरकारी कार्यालय छन् । केही पालिकामा एकीकृत सेवा बिस्तार भए पनि अधिकांश स्थानीयबासीलाई सरकारी कामको लागि जलेश्वर नै जानुपर्ने बाध्यता छ । तर, यहाँ न यातायातको उचित व्यवस्थापन छ न फोहोर व्यवस्थापनमा ध्यान दिइएको छ । 

जिल्लाकै अग्रणी स्थानीय तह बनिसक्नु पर्ने यो पालिका राजनीतिक खिचातानी र जनप्रतिनिधिबीच किकास कार्यमा सहमति बन्न नसक्दा जलेशवरको अवस्था दयनीय बनेको स्थानीयको बुझाइ छ । 

जिल्ला कै प्राचीन र गौरवपूर्ण विरासत बोकेको जलेश्वर नगरपालिका तीर्थालुको तीर्थस्थल मात्र होइन, अन्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने यथेष्ट आधार छन् । तर, यतातिर न स्थानीय सरकार र सरोकारवाला निकायको ध्यान पुगेको छैन । 

जलेश्वर नगरपालिका, धार्मिक सहिष्णुताको एउटा राम्रो उदाहरण समेत हो । ८५ प्रतिशत हिन्दु र १५ प्रतिशत इस्लाम धर्मावलम्बी बसोबास गर्ने यो नगरपालिकामा मन्दिर र मस्जिदका बारेमा कहिल्यै विवाद भएको सुन्न पाइँदैन । हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल जलेश्वरनाथ महालिंग महादेवको नामबाट जलेश्वर नामकरण गरिएको हुँदा यो नगरको महत्त्व बेग्लै छ । 

ज्वालाबाट माहालिंग उत्पन्न भएको र त्यही ज्वालाबाट पानी समेत उत्पन्न भएकाले यो मन्दिरको नाम जलेश्वर रहन गएको भनाइ छ । जलेश्वर मन्दिरसँगै नगरपालिकामा अन्य मन्दिर पनि छन् । यहाँका तपस्वी भार्गव ऋषि आश्रम, हनुमान मन्दिर, रामजानकी दुलहा केली कुञ्ज, भैरव, उमा महोदरी, शक्ति पीठ, त्रिशुलीमाई, दुर्गा, राजदेवी मन्दिर र ब्रहमचारी कुटी प्रसिद्ध धार्मिकस्थल हुन् । यी स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने अभियानमा कटिबद्ध रहेको निर्वाचित जनप्रतिनिधि दाबी गर्छन् । 

नवनिर्वाचित जनप्रविधिहरूलाई जलेश्वरको समृद्धिका खाका कोर्नुका साथै यो सहरलाई व्यवस्थित बनाउने चुनौती पनि छ । यहाँका सडकपेटी पनि व्यापारीको अतिक्रमणमा परेका छन् । जसले गर्दा पेटी भएको स्थानमा पैदलयात्री सडकबाट हिँड्न बाध्य छन् । त्यसैले नगरपालिकालाई समृद्ध बनाउन स्थानीय सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यक छ ।