close

सुत्केरीलाई पौष्टिक आहार, गोरु पाल्नेलाई अनुदान

सुत्केरीलाई पौष्टिक आहार, गोरु पाल्नेलाई अनुदान

Trulli
ADVERTISEMENT

 गर्भवती र सुत्केरीलाई रामग्रामको पौष्टिक आहार

नवलपरासीको रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको छ । नगरपालिकाले जिल्लामा पहिलो पटक आठ सय ९५ गर्भवती तथा सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको हो ।

नगरपालिकाले पहिलो पटक छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको नगरप्रमुख धनपथ यादवले जानकारी दिए । 

ग्रामीण क्षेत्रका अधिकांश महिला सुत्केरी तथा गर्भवती भएको अवस्थामा पर्याप्त पोषण सहित खानेकुरा खान नपाउँदा बच्चा र आमाको स्वास्थ्य विग्रन सक्ने जनाएका छन् । उनले सबै वडाका गर्भवती तथा सुत्केरीलाई  पौष्टिक आहारसहित झोला वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिए।

विपन्न परिवारका लागि अनुदानमा गाई

दोलखाको भीमेश्वर नगरपालिकाले लागत साझेदारीमा गाई वितरण अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम लागू गर्न लागेको जनाएको छ ।

नगरपालिकाको अनुसार चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप एकल महिला तथा विपन्न परिवारलाई साझेदारीमा गाई वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने एकल महिला तथा विपन्न परिवारले सूचना प्रकासित भएको १५ दिन भित्र माग आवेदन भर्न अनुरोध गरेको छ । 

कार्यक्रमको लागि नगरपालिकाले ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले ५० प्रतिशत लागत व्यहोर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

 मिटमार्ट स्थापनाको लागि प्रस्ताव माग

काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले मिटमार्ट स्थापनाका लागि प्रस्ताव आव्हान गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै मिटमार्ट स्थापनाका लागि प्रस्ताव माग गरेको हो । 

सूचनाअनुसार चालू आर्थिक वर्षको संघीय सर्शत कार्यक्रममार्फत लागत साझेदारीमा मिटमार्ट स्थापना गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनु पर्ने नगरपालिकाले जनाएको छ । 

 गोरु पाल्नेलाई बाह्रविसेको अनुदान

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले गोरु पाल्ने सात सय ७६ कृषकलाई प्रोत्साहनस्वरुप रु १० हजार अनुदान दिएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो ।

नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो ।

नगरप्रमुख उत्कृष्ट किसान पुरस्कार

ललितपुरको गोदावरी नगरपालिकाले नगर प्रमुख उत्कृष्ट किसान पुरस्कार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हो । 

सूचना अनुसार न्यूनतम मापदण्ड पुरा गरेका कृषकले माघ १० गतेभित्र पालिकाको पशु सेवा शाखामा कार्यालय समयमा आवेदन दिन सक्ने छन् ।

सार्वजनिक निजी साझेदारीमा पसल सटर निर्माण गरी बहालमा

सिराहाको कल्याणपुर नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पसल सटर निर्माण गरी बहालमा लिन आव्हान गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै पसल सटर बहालनमा लिन आव्हान गरेको हो । 

नगरपालिकाको अनुसार वडा नम्बर १२ स्थित बेल्हा बजारको दक्षिण र पोखरीको उत्तरतर्फको डिलमा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप १६ वटा पसलको लागि सटर निर्माण गर्न अनुरोध गरेको हो ।

शिक्षा सुधारको लागि कामपमा शिक्षण सहजकर्ता नियुक्त गरिने

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित  सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न अनिवार्य पाँच विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गर्ने भएको छ ।  

यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवि विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गर्न लागिएको महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।

शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने बताइएको छ ।