close

वडावडामा सामाजिक सुरक्षा भत्ता, धनगढीमाईमा कुपोषण जाँच गरिँदै

वडावडामा सामाजिक सुरक्षा भत्ता, धनगढीमाईमा कुपोषण जाँच गरिँदै

Trulli
ADVERTISEMENT

वडावडामा सामाजिक सुरक्षाभत्ता
भोजपुरको रामप्रसादराई गाउँपालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष थाम बहादुर राईले सुरक्षाकर्मीसहित वडा नं ८ मा पुगेर त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता उपलब्ध गराएका हुन्। 

एनआइसी एसिया बैंक, बैकुण्ठेको प्राविधिक आर्थिक सहयोगमा पालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको हो। भत्ता भुक्तानी शिविरमा अध्यक्ष राईले ज्येष्ठ नागरिकलाई माला तथा खादा लगाउँदै तीन महिनाको सामाजिक सुरक्षा भत्ता नगदमा वितरण गरेको बताए ।

 भीमदत्तमा जग्गा वर्गीकरण
कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ । नगरपालिकाले गरेको जग्गाको वर्गीकरण अनुसार भीमदत्तमा कृषि क्षेत्र जमिन न्यून छ । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको जमिन चार दशमलव दुई प्रतिशत छ । तराईको अन्नभण्डारको रुपमा रहेको कञ्चनपुरमा कृषि क्षेत्रको जग्गा खण्डीकरण हुँदै गएको छ । भीमदत्तले गरेको वर्गीकरण अनुसार सबैभन्दा बढी आवासीय क्षेत्र ६१.२१ प्रतिशत छ ।

बागमति गाउँपालिकाको वडा नम्बर २ अन्तर्गतका तीन वटा समुदाय सुरक्षित खानेपानीयुक्त समुदाय घोषित
ललितपुरको बागमति गाउँपालिकाको वडा नम्बर २ लाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेको छ । यूनिसेफ नेपालको आर्थिक सहयोग र शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्को) सहकार्य र बागमति गाउँपालिकाको वडा  न‌म्बर २ को आयोजनामा छहरे, गोगनघारी (बगुवा) र ठूलाभिर गरी तीन वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेको हो । 
माल्टास्थित श्री कालिदेवि उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा   बागमति गाउँपालिकाका अध्यक्ष बिरबहादूर लोप्चनको प्रमुख आतिथ्यता र वडा अध्यक्ष रामबहादुर भुलुन तामाङको आतिथ्यतामा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

 चाँगुनारायणमा  प्रथम नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न 
भक्तपुरको चाँगुनारायण नगरपालिकामा  प्रथम नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।  नगरपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित तपादम्फोमा प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा नगरभित्रका ३१ वटा विद्यालयलले सहभागिता जनाएको नगरपालिकाले जनाएको छ ।  प्रतियोगीमध्ये २२ वटा विद्यालयले पदक जितेको छ ।

 वीरेन्द्रनगरमा कर्मचारी माग
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै पशु चिकित्सक र कृषि स्नातक पदमा २ जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाको अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले सो पदको लागि आवेदन दिन सक्ने छन् । सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित १००० रुपैयाँ तिरेर आवेदन दिन सक्ने छन् । आवेदकहरुबीच लिखित, मौखिक र प्रयोगात्मक प्रतिस्प्रर्धा गराई योग्य व्यक्तिलाई छनोट गरिने नगरपालिकाले जनाएको छ ।
 

धनगढीमाईमा कुपोषण जाँच गरिँदै
सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको छ ।
नगरपालिकाको स्वास्थ्य टोलीले छदेखि पाँच वर्ष मुनीका बालबालिकामा पोषण अवस्थाबारे अभिलेख राख्ने उद्देश्यले कुपोषण जाँच सुरु गरेको हो ।
पाँच हजार ५९ बालबालिकाको पाखुराको नाप लिँदै कुपोषण भए÷नभएको जाँच सुरु गरिएको धनगढीमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विशेश्वरप्रसाद यादवले जानकारी दिए । 

उनका अनुसार कुपोषण जाँचमा पाखुराको नाप लिन प्रयोग गरिएको मुवाक टेपमा हुने तीन वटा रङको सहायताबाट कुपोषण भए÷नभएको पत्ता लाग्नेछ ।

 सेवामा सुधार ल्याउन कर्मचारीलाई फूलको गुच्छा
दाङको राप्ती गाउँपालिकाले १० नबज्दै कार्यालय आउने कर्मचारीलाई फूलको गुच्छासहित सम्मान गर्ने अभियान सुरु गरेको छ । गाउँपालिकाको सेवा विस्तारलाई  छिटो छरितो गर्नको लागि कर्मचारीलाई सम्मान अभियान सुरु गरेको हो । 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले १० नबज्दै कार्यालय पुग्ने कर्मचारीलाई फूलका गुच्छा दिँदै सम्मान गरिएको जनाएको छ । उनका अनुसार कर्मचारीलाई सम्मान गरेसँगै प्रोत्साहन हुने उनको विश्वास छ । साथै सेवा प्रवाहमा सुधार आउने विश्वास उनको छ । 

हाल गाउँपालिकामा ६० जना कर्मचारी कार्यरत छन् ।