close

उत्तरगयामा जग्गाको कित्ताकाँट खुलाउन पहल, सुत्केरीलाई कुखुराको भाले उपहार (भिडियाेसहित)

उत्तरगयामा जग्गाको कित्ताकाँट खुलाउन पहल, सुत्केरीलाई कुखुराको भाले उपहार (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

योजनाको जानकारी लिन अनुगमनमा पुगे नगरप्रमुख सुबेदी

झापाको गौरादह नगरपालिकाले निमार्णाधीन आयोजनाको अनुगमन गरेको छ । नगरपालिकाका नगरप्रमुख छत्रपति सुबेदीसहितको टोलीले शुक्रबार र शनिबार आयोजनाहरुको अनुगमन गरेका हो । 


पालिकाभित्र सञ्चालनमा रहेका योजनाको वस्तुगत अवस्था र निर्माण कार्यको बारेमा जानकारी लिन शुक्रबार वडा नम्बर ९ को कल्भर्ट र शनिबार वडा नम्बर १० मा अनुगमन गरेको  नगरप्रमुख सुबेदीले जानकारी दिए । अनुगमनमा सन्तोषजनक काम भइरहेको पाएको उनको भनाइ छ।

  तिलोत्तमाका भूमिहिनलाई लालपूर्जा वितरण
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर १४ मा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गरेको छ । तिलोत्तमा–१४ स्थित विन्दुनगरमा शुक्रवार नगरपालिकाले १२ जनालाई लालपूर्जा वितरण गरेको हो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाभित्र रहेका सम्पूर्ण भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत नगरपालिकासँग रहेको बताउदै बाँकी रहेका भुमीहिनहरुलाई पनि क्रमिक रुपमा लालपुर्जा वितरण गरीने जानकारी दिए ।


 सुत्केरीलाई कुखुराको भाले उपहार
म्याग्दीको  मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई भाले उपहार दिन थालेको हो । 


गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बताए।  तोकिएको मितिमा आठपटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो । 
 

उत्तरगयामा जग्गाको कित्ताकाँट खुलाउन पहल
रसुवाको उत्तरगया गाउँपालिकाले जग्गाको कित्ताकाँट खुलाउन गृहकार्य सुरु गरेको छ । गत असारको तेस्रो सातादेखि रोकिएको  जमिनका कित्ताकाट  खुलाउन पालिकाले गृहकार्य सुरु गरेको हो । 
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव सङ्कलनकार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिए । भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उनले बताए । 

 सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो ।

अभियानअन्तर्गत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । छ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रुपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ ।

 न्यायिक समितिमा चार कार्यपत्र प्रस्तुत हुने
 काठमाडौं महानगरपालिकाको आयोजनामा यही चैत १५ र १६ गते काठमाडौँमा हुन लागेको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा मुख्यगरी चार कार्यपत्र प्रस्तुत हुने भएका छन् ।

 
महानगर उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डङ्गोलले पहिलो कार्यपत्र न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा हुने जानकारी दिइन्।   


सम्मेलनको दोस्रो कार्यपत्रमा न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्यरुपमा पालना गर्नुपर्ने प्रक्रियाका विषयमा प्रस्तुति हुने छ। तेस्रो विषय स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवद्र्धन विषयमा हुनेछ । चौथो कार्यपत्रमा न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्यरुपमा पालना गर्नुपर्ने प्रक्रियासम्बन्धी हुनेछ ।     
 

 एकल महिलालाई बाख्राका पाठापाठी वितरण
मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ जना एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो। 


वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै बसेर आर्थिक उपार्जन गर्नसक्ने गरी दिगो आर्थिक स्रोतको पहिचान गरी पाठापाठी वितरण गरिएको वडाध्यक्ष कुमार कँडेल ९राजन० ले बताए।