close

रैथाने बाली खरिद गर्न सम्झौता, ६१ घरमा टिनको छानो छाउदै मदाने

रैथाने बाली खरिद गर्न सम्झौता, ६१ घरमा टिनको छानो छाउदै मदाने

Trulli
ADVERTISEMENT

हिमाल सफा गर्ने टोलीलाई महानगर लोगो अङ्कित झन्डा हस्तान्तरण

कास्कीको पोखरा महानगरपालिकाले अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई महानगरको लोगो अङ्कित झन्डा हस्तान्तरण गरेको छ । महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गरेका क्याप्टेन भीम बहादुर भुजेललाई सो झण्डा हस्तान्तरण गरेका हुन् । 

उनले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा महानगरपालिकाको साथ रहेको बताए । सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताहरूको हौसलाका लागि पोखरा महानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने उनले बताए ।

रैथाने बाली खरिद गर्न सम्झौता

हुम्लाको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ ।     

सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुपर्ने परिमाण र बालीको प्रकार खुलाउनुपर्ने उल्लेख छ । सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरे । अदानचुलीबाट लिमिटेडले छ प्रकारका रैथाने बाली खरिद गर्न सम्झौता गरेको हो । 

गन्यापधुरामा स्वास्थ्य  शिविर

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको  स्वास्थ्य शाखाद्वारा आयोजना क्यान्सर र पाठेघरको समस्या रहेका महिलाहरुलाई रिङ्ग प्रेसरको सुबिधासहितको एक दिवसिय स्कृनिङ्ग शिविर  गरेको हो । 

पालिकाको मष्टामाण्डौ स्वास्थ्य चौकी अन्तर्गत सामुदायिक स्वास्थ्य इकाई भवन ग्वान्नीमा सो शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ६५ महिलाहरुको परिक्षण गरिएको  गाउँपालिकाले जनाएको छ। 

विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

रुपन्देहीको बुटवल उपमहानगरपालिका र विश्व बैंकका प्रतिनिधि तथा विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल भएको छ।
बुटवल उपमहानगरपालिकामा बिहीबार आयोजित छलफलमा बुटवलका तर्फबाट नगरप्रमुख खेलराज पाण्डेयले ८ वटा योजनाको प्रस्ताव गरेका छन्।

उनले बुटवलको सडमा खुला नाली निर्माण, तिनाउ नदी नियन्त्रण तथा जलपर्यटन, पुरानो बुटवलको मौलिकता संरक्षण गर्दै पुरानो बुटवलको पुनःनिर्माण र पर्यटकीय स्थलको विकास, प्रत्येक वडामा सुविधासम्पन्न शहरी स्वास्थ्य केन्द्र निर्माण, महिला उद्यमशीलता तथा सशक्तिकरण, पार्किङ र व्यवसायिक भवन निर्माण र हरियाली पार्कहरु निर्माणका लागि प्रस्ताव गरे ।

६१ घरमा टिनको छानो छाउदै मदाने

गुल्मीको मदाने गाउँपालिकाले सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले खरको छानो विस्थापित गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

कार्यक्रमको फोकल परसन दिल्लीराज भट्टराईका अनुसार चालू आर्थिक वर्षमा ६१ वटा घरमा सो कार्यक्रम सञ्चालन गरिने छ । उनले सुरक्षित र वातावरणमैत्री आवासको लागि गरिबीको रेखामुनी रहेका, प्रकोपका कारण घरबारविहिन भएका परिवारलाई टिनको जस्तापाता र काठ खरिदको लागि ७५००० रुपैया नगद रकम वितरण गरिने बताए  । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले चैतको २६ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ। कार्यक्रममा छनौट भएका व्यक्ति स्वयम्ले टिनको पाता छाएर पालिकामा आवेदन दिएपछी गाउँपालिकाको प्राविधिक टोलिले अनुगमन र मूल्यांकन गरेपछि उक्त रकम वितरण गर्ने छ। 

नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता गर्दै सिद्धार्थनगर

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाको आयोजनामा चैत २२ गतेदेखि सिद्धार्थ रंगशालाको मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पालिकाभित्रका प्रत्येक वडाले एकएक टोली सहभागी गराउन सक्ने नगरपालिकाले जनाएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीको टोलीले चैत १९ गतेसम्म आवेदन दिन सक्ने छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले प्रतियोगितामा प्रथम हुनेलाई ५१ ०००, द्धितीयलाई २५ ५०० नगद पुरस्कारको व्यवस्था गरिएको जानकारि दिए।

गोबरको अभावले सञ्चालन हुन सकेन बायोग्याँस प्लान्ट

कैलालीको टीकापुर नगरपालिकाले निर्माण गरेको बायो ग्याँस प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ ।

सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्याँस उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पुर्याउने भनिएको थियो। तर गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट  नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा बायो ग्याँस प्लान्टअलपत्र परेको हो ।