close

सवारी आगमनलाई सहज गर्न सडक हेरालु नियुक्त गर्दै खनियाबास, इच्छाकामनामा दादुराविरुद्धको खोप (भिडियाेसहित)

सवारी आगमनलाई सहज गर्न सडक हेरालु नियुक्त गर्दै खनियाबास, इच्छाकामनामा दादुराविरुद्धको खोप (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सवारी आगमनलाई सहज गर्न सडक हेरालु नियुक्त गर्दै खनियाबास

धादिङको खनियाबास गाउँपालिकाले सडक हेरालु नियुक्ती गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्रका सडकको निगरानी गर्नको लागि प्रत्येक वडाका लागि २ जना सडक हेरालु नियुक्ती गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार बर्खायाममा अत्याधिक वर्षाका कारण पालिकाभित्रका अधिकांश सडकमा पुग्ने क्षतिलाई रोकथाम तथा नियन्त्रण गरी नियमित सवारी आगमनलाई सहज बनाउनका लागि सडक हेरालु नियुक्त गर्न लागेको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

लम्पि स्किन रोगको उपचारको लागि पशु स्वास्थ्यकर्मी माग

पाँचथरको फालेलुङ गाउँपालिकाले पशु स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटर माग गरेको छ। बिहिबार एक सुचना जारी गर्दै गाउँपालिकाले एक महिनाको लागि पशु स्वास्थ्यकर्मी तथा भ्याक्सिनेटर पदमा पाँचजना कर्मचारी माग गरेको छ। 

पालिकाभरि लम्पि स्किन रोग व्यापक रुपमा फैलिरहेको हुँदा त्यसको उपचार र असंक्रमित क्षेत्रमा खोप लगाउनको लागि पशु स्वास्थ्यकर्मी माग गरेको हो। इच्छुक योग्य व्यक्तिलाई ३०० रुपैयाँ दस्तुर तिरि सुचना प्रकासित भएको चारदिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ। 

कृषकलाई अनुदानमा कृषि सामग्री

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई करिब रु १० लाख बराबरको साना कृषि औजार उपलब्ध गराएको हो । 

नगरपालिकाले इलेक्ट्रिक च्यापकटर , प्रेसर क्लिनर , काउ म्याट लगायत सामग्री वितरण गरेको छ। कृषकको समय बचत गर्न र  पशुपालक कृषकलाई काममा अग्रसर गराउन यस्तो कार्यक्रम ल्याइएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन्।

इच्छाकामनामा दादुराविरुद्धको खोप

चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकाको  वडा नं ६ मा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो ।

स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएसँगै गाउँपालिकाले जेठको पहिलो साता खोप लगाउने तयारी गरेको हो। पूर्णखोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए। 

‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु शैक्षिकसत्रदेखि लागू गर्ने गरि कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ ।

निर्माण गरिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृतिलगायत विविध पक्षको संरक्षण र संवद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग पु¥याउने विश्वास छ । स्थानीय पाठ्यक्रममार्फत बालबालिकालाई आफ्नो परिवेशबाट सिक्ने, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञान दिन पाठ्यक्रम निर्माण गरिएको स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन समितिका संयोजक टिकेन्द्रराज भट्टले बताए ।

स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

प्यूठानको गौमुखी गाउँपालिकाले स्थानीय पाठ्यक्रम २०७९ को चालु शैक्षिक सत्रबाट लागू गरेको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा लागू हुने गरी पहिलो चरणमा गाउँपालिकाले कक्षा ५ मा  ‘हाम्रो गौमुखी’ पाठ्यक्रम लागू गरेको हो । 

एक वर्ष पाठ्यपुस्तकविना शिक्षकले खोज तथा समन्वयमा विषयवस्तुका बारेमा जानकारी लिइ पठनपाठन गराइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए। उनका अनुसार ‘हाम्रो गौमुखी’मा स्थानीय कला, गीतसङ्गीत, संस्कृति, खेतीबाली, परम्परा, वेषभूषा, नदीनाला, रहनसहन र पर्यटनसम्बन्धी विषयवस्तु समेटिएको छ। 

आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव संकलन गर्दै हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले एप सार्वजनिक गरेको छ । आगामी आव २०८०/८१ को नीति, कार्यक्रम तथा बजेटको लागि जनस्तरबाट सुझाव संकलन गर्न उपमहानगरले एप सार्वजनिक गरेको हो। 

उक्त एप प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र साथै उपमहानगरपालिकाको फेसबुक पेज र ट्विवटर एकाउन्टमा सार्वजनिक गरिएको छ। एपमार्फत आम नगरवासीहरुलाई नीति, कार्यक्रम तथा बजेट निर्माणमा सुझाव दिन उपमहानगरले अनुरोध गरेको छ।