close

रैथाने बाली संरक्षण गर्दै खाँदबारी, लुङ्ग्रीमा स्थानीय अनुदान शिक्षक माग

रैथाने बाली संरक्षण गर्दै खाँदबारी, लुङ्ग्रीमा स्थानीय अनुदान शिक्षक माग

Trulli
ADVERTISEMENT

रैथाने बाली संरक्षण गर्दै खाँदबारी

संखुवासभाको खाँदबारी नगरपालिकाले रैथाने बाली संरक्षण गर्ने भएको छ । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बाली संरक्षण गर्न नगरपालिकाले आवश्यक मेसिन तथा औजार वितरण गर्न लागेको हो। 

नगरपालिकाको अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने फार्म, कृषक, सहकारी संस्थाले आवश्यक कागजातसहित जेठ १० गतेभित्र आवेदन दिन सक्ने जनाइएको छ । आवश्यक कागजातसहित नगरपालिकासँग सम्झौता गरी ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रममा सहभागी हुन सक्ने छन्।

लुङ्ग्रीमा स्थानीय अनुदान शिक्षक माग

रोल्पाको लुङ्ग्री गाउँपालिकाले बालविकास तहमा १ जना स्थानीय अनुदान शिक्षक माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर ७ अन्तर्गत श्रीजलबराह बाल विकास केन्द्रका लागि एक जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र ५०० रुपैयाँ दस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनमा उल्लेख गरिएको छ । 

वीरगञ्जद्वारा ३६ करोड राजस्व सङ्कलन

पर्साको वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्ष २०७९–८० को १० महिनामा विभिन्न २६ शीर्षकमा रु ३६ करोड ६१ राजस्व सङ्कलन गरेको छ । 

महानगरपालिकाको राजस्व शाखा प्रमुख मनोजकुमार कर्णका अनुसार चालु आवमा सम्पत्ति करबाट रु १४ करोड एक लाख, घरबहाल करबाट रु पाँच करोड ५७ लाख, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु दुई करोड २१ लाख, सरकारी सम्पत्ति बहालबाट रु दुई करोड ७१ लाख, अन्य सेवा शुल्कबाट रु दुई करोड दुई लाख तथा अखेटोपहारमा लाग्ने करबाट रु दुई करोड ३६ लाख सङ्कलन भएको छ । 

आगामी वर्षको योजनाका लागि सुझाव संकलन गर्दै  पोखरा

कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर ०९ मा आगामी आर्थिक वर्ष २०८०/८१ को योजना तर्जुमा सम्बन्धी तयारी बैठक सम्पन्न भएको छ । 

महानगरपालिकाको सहरी क्षेत्रको सौन्दर्यीकरण, हरियाली प्रवर्धन र गरिबी न्यूनीकरण लगायतका कार्यहरूमा केन्द्रित योजनाहरू ठोस ढंगले आउनु पर्ने सरोकारवालाहरूको सुझाव छ । योजना तर्जुमा गर्ने कार्यमा नागरिक सहभागितालाई जोड दिँदै प्रमुख धनराज आचार्यले समग्र वडाको विकासमा दीर्घकालीन रणनीतिका योजनाहरू निर्माण गर्न आवश्यक रहेको बताए।

वालिङमा जग्गाको कित्ताकाट खुला

स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । राष्ट्रिय भूउपयोग ऐन, २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार, २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो ।

चौध वडामध्ये नगरपालिकाले पहिलो चरणमा सिद्धार्थ राजमार्गसँग जोडिएका तथा बजारका वडा ६, ८, ९, १० र १३ वडामा कित्ताकाट थालेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए।

पदमार्गमा जोडिँदै धारापानी

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ स्थीत पर्यटकीय मार्ग धारापानीमा पद्माग निर्माणको कार्य अगाडी बढाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी धारापानी पुग्ने बाटोमा ढुङ्गा बिछ्याउने कार्य भइरहेको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णप्रसाद भट्टले बताए।

नब्बे दिनभित्र पदमार्ग निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको रु छ लाख रकम खर्च गरेर पदमार्ग निर्माण भइरहेको उनले जानकारी दिए। 

बुटवल उपमहानगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुधबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन्। 

उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र उपमहानगरपालिकाको सिफारिसका आधारमा  जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।  घोषणा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलमा कुनैपनि प्रकारका खोपको अभाव हुन नदिन बुटवलले विशेष चासो दिएको र पर्याप्त पूर्वतयारी गर्दै आवश्यक जनशक्ति र पूर्वाधार व्यवस्थापन गरेको बताए ।