close

बुटवलमा मेलमिलापकर्तालाई तीन दिने अभिमुखीकरण

बुटवलमा मेलमिलापकर्तालाई तीन दिने अभिमुखीकरण

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकामा सूचीकृत मेलमिलापकर्तालाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।  उपमहानगरपालिकामा सूचीकृत १ सय ९ जना मेलमिलापकर्ताहरुका लागि ३ दिने पुनःताजगी कार्यक्रम सुरु भएको हो ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वडातहबाटै विवाद निरुपण गर्दै मेलमिलाप कायम राख्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।  उनले समाजलाई विकसित र शिक्षित बनाउनका लागि मेलमिलाप नीतिको महत्वपूर्ण भूमिका हुने भएकाले समाजलाई विवादरहित बनाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताए ।

उनले मेलमिलाप गर्नसक्ने विवादमा मेलमिलाप गर्ने र अन्य विवादहरुलाई न्यायिक समितिबाट निरुपण गर्नुपर्ने र अदालतको क्षेत्राधिकारका विषयलाई अदालतमा लैजानुपर्ने विषयका बारेमा समेत समाजमा चेतना फैलाउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले न्याय सम्पादनमा मेलमिलापकर्तादेखि न्यायिक समितिसम्मको भूमिकालाई बुटवल उपमहानगरपालिकाले उत्कृष्ट बनाउनुपर्ने बताइन् ।

उनले अदालतको अधिकारमा पुग्ने विषयबाहेक नगरका क्षेत्राधिकारका विषयमा विवाद निरुपण गर्ने र जनमानसमा शान्ति र सद्भाव कायम गर्न मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले मेलमिलापकर्ताले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउँदै समाजमा सद्भाव र शान्ति कायम राख्नका लागि अगुवाई गर्नुपर्ने बताए ।

३ दिनसम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेल, अधिवक्ताहरु बाबुराम पाण्डे, महेन्द्र पाण्डे, घनश्याम पन्त, शालिकराम बञ्जाडे, पूर्व कानून अधिकृत सुवर्ण खनाललगायतले मेलमिलापकर्ताको भूमिका र अधिकारलगायतका विषयमा सहजीकरण गर्ने कानून, न्याय तथा मानवअधिकार प्रवद्र्धन शाखाका प्रमुख धु्रव भट्टराईले जानकारी दिए।