close

नियमित गर्भजाँच गराउने महिलालाई नगरपालिकाको प्रोत्साहन

नियमित गर्भजाँच गराउने महिलालाई नगरपालिकाको प्रोत्साहन

Trulli
ADVERTISEMENT

खोटाङ - हलेसी तुवाचुङ नगरपालिका– ६ को वडा कार्यालयले मंगलटारमा नियमित गर्भजाँच गराउने महिलालाई आयोडिन नुन, तेल, अन्डा र साबुन दिने भएको छ ।


गर्भवती महिलालाई नियमित गर्भ जाँच गर्न प्रोत्साहित गर्न वडा कार्यालयले प्रोत्साहनस्वरुप नुन, तेल, अन्डा र साबुन दिन सुरु गरेको हो ।
गर्भवतीलाई अनिवार्य गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पु¥याउने वातावरण बनाउन यस्तो सहयोग दिन थालिएको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । 


पहिलो तीन महिनाभित्र गर्भजाँच गराएका गर्भवतीलाई पहिलोपल्ट तथा ९ महिनामा अन्तिम गर्भजाँच गराएका गर्भवतीलाई वडा कार्यालयले दोस्रोपल्ट प्रोत्साहनको व्यवस्था गरेको हो । 


अन्तिममा प्रोत्साहन पाउनका लागि गर्भवतीले नियमित गर्भजाँच गरेको हुनुपर्ने नियम बनाइएको वडाध्यक्ष राउतले बताए । ‘नियमित गर्भजाँचमा नआउँदा गर्भवती महिलाको क्याल्सियम र आइरन चक्की पनि छुट्दो रहेछ । आमा र बच्चाको अवस्थाबारे पनि थाहा नहुदो रहेछ’,  वडाध्यक्ष राउतले भने, ‘कम्तीमा नियमित गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामा पुग्ने वातावरणका लागि हामीले गर्भवतीलाई नुन, तेल, अन्डा र साबुन दिन सुरु गरेका हौं । नियमित गर्भ जाँच गराएका रहेछन् भने अन्तिम गर्भजाँचपछि पनि प्रोत्साहन गर्ने व्यवस्था मिलाएका छौं ।’ 


नियमित गर्भजाँचमा प्रोत्साहित गर्न वडा कार्यालयले आर्थिक वर्ष ०७६/७७ देखि गर्भवती प्रोत्साहन कार्यक्रम सुरु गरेको हो । पहिलो तीन महिनाभित्र गर्भजाँच गराएका ४ र अन्तिम ९ महिनामा गर्भजाँच गराएका ३ जना गर्भवतीलाई वडा कार्यालयले प्रोत्साहनस्वरुप नुन, तेल, अन्डा र साबुन प्रदान गरेको छ । 


महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता 


यस्तै, गर्भवतीलाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा पुर्याउने मंगलटारका महिला स्वास्थ्य स्वयंसेविकालाई पनि प्रोत्साहन भत्ता प्रदान गरिएको छ । 


आ–आफ्ना टोलका गर्भवती महिलालाई वर्थिङ सेन्टरमा लगेर गर्भवती गराउन सहयोग गर्ने ६ महिला स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयले प्रतिसुत्केरी ३ सयका दरले प्रोत्साहन रकम प्रदान गरेको हो । ६ जनाले १८ गर्भवतीलाई स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराउन सहयोग गरेको वडाध्यक्ष राउतले बताए । 


हलेसी तुवाचुङ नगरपालिकालाई ०७५  असार ३० मा पूर्ण बर्थिङ सेन्टरयुक्त नगर घोषणा गरिसकिएको छ । नगरपालिकाका ११ वटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको केही समयपछि पूर्ण बर्थिङ सेन्टरयुक्त वडा घोषणा गरिएको थियो ।