close

चुरेमा खानेपानीको हाहाकार

चुरेमा खानेपानीको हाहाकार

Trulli
ADVERTISEMENT

चुरे । कैलाली जिल्लाको दुर्गम पहाडी चुरे गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । 

गाउँपालिकाको वडा नम्बर ६ को गजार, दर्व, तितरे, गौजेना, जिग्रेनी, मल्लो रन्तोला, सल्लेरी, ढुंग्यानीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव भएको हो ।

बुधबारको वर्षाले खानेपानीका मुहान बगाएसँगै पाइप पनि बगाएकाले खानेपानीको समस्या भएको गौजेनाका स्थानीय हर्क दमाईंले बताए । ‘झरीले खानेपानीका मुहान बगाएसँगै हामी खोला, कुवा, तलाउको दूषित पानी पिउन बाध्य भएका छौँ,’ उनले भने ।

गाईंगोरुले पिउने पानी पिउन बाध्य भएको अर्का स्थानीय ढुंग्यानीका लालबहादुर साउँदले बताए । ‘हरेक वर्ष गर्मीको समयमा खानेपानीको समस्या हुने हाम्रो गाउँमा बर्खाको समयमा समेत खानेपानीको समस्या भएको छ,’ उनले भने, ‘गर्मीको समयमा पानीका मुहानहरू सुकेर समस्या हुन्थ्यो । तर, बर्खाको समयमा पनि खानेपानीको समस्या भएको छ ।’

साउनको १८ गतेदेखि परेको वर्षासँगै आएको बाढीले खानेपानीका मुहान भताभुङ्ग भए पनि खानेपानीको समस्या उत्पन्न भएको उनले बताए ।
तीन दिनदेखि खानेपानीको समस्या भएको बताउँदै उनले भने, ‘अहिले हामी खोला, कुवा र तलाउमा जम्मा भएको दूषित पानी पिउन बाध्य भएको छौँ ।’

अविरल वर्षासँगै आएको बाढीले खानेपानीका मुहान बगाउँदा दूषित पानी पिइरहेको स्थानीय टेकबहादुर साउँदले बताए । 
‘खोला, कुवा र जम्मा भएको तलाउको दूषित पानी नपिऊँ भने तिर्खाले मरिन्छ कि भन्ने डर, पिऊँ भने रोगले मरिन्छ कि भन्ने डर छ । तर, पनि बाध्य भएर दूषित पानी पिइरहेका छौँ,’ उनले भने ।

जम्मा भएको तलाउ, कुवा र खोलाको दूषित पानी पिउँदा रोग फैलिने हो कि भन्ने डर चुरेका वडा नम्बर ६ बासीलाई छ । उनीहरू सरकारप्रति उदासीन हुँदै भन्छन्, ‘कहिलेसम्म हामी शुद्ध पिउने पानीबाट वञ्चित हुने ? कहिले हामी रोगमुक्त हुने ?’

स्थानीयहरूका अनुसार गर्मीको समयमा खानेपानीका मुहान सुक्दै गएपछि धाराहरूमा पानी आउन बन्द हुन्थे । 
तर, अहिले बर्खाको समयमा खानेपानीको मुहान र पाइप बगाउँदा समस्या भएको छ । चुरे गाउँपालिका ६ का जनताले गर्मीको समयमा मात्र होइन हिउँदको समयमा पनि केही महिनासम्म शुद्ध खानेपानीबाट वञ्चित हुनुपरेको गजारका स्थानीय मनोज साउँदले दुखेसो पोखे ।

उनले गर्मीको समयमा सुक्ने पानीका मुहानहरू वर्षातमा फुट्ने भए पनि वर्षासँगै आउने बाढीले मुहान र पाइपहरू बगाउने भएकाले खानेपानीको समस्या खेप्नुपरेको बताए ।

‘स्थानीय सरकारले मुहान तथा खानेपानीका पाइप समयमा मर्मत र जडान नगर्दा हामीलाई दुईदेखि तीन महिनासम्म त खानेपानीको चरम अभाव हुने गरेको छ,’ उनले भने ।

गाउँपालिकाको ६ नम्बर वडाका एक सय घरधुरी खानेपानीको समस्या भोक्दै आए पनि सरोकारवाला निकायको ध्यान नजाँदा उनीहरू खोला, तलाउ र कुवाको दूषित पानी पिउन बाध्य भएका छन् ।

मुहान र पाइपहरू बगाएपछि सो क्षेत्रका जनता घरदेखि आधा घण्टा टाढाको दुरीमा रहेको खोलाबाट फोहर पानी ल्याउन जानुपर्ने बाध्यता रहेको स्थानीय हरिश साउँदले दुखेसो सुनाए । ‘हामीहरूले वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका छौँ । हामीले खानेपानीको दीर्घकालीन योजना बनाएर प्रदेश र स्थानीय सरकारलाई माग गर्दा पनि समस्या समाधान नहुँदा समस्या गर्मीयाम, वर्षात र हिउँदमा पनि गाई गोरुले पिउने खोलाको दूषित पानी पिउन बाध्य भएका छौँ’, उनले भने ।

उनले खानेपानीको समस्या भएको स्थानीय सरकारलाई पटक—पटक जानकारी गराउँदा पनि कुनै पहल नहुँदा वषौंदेखि दूषित पानी पिउँदै आएको दुःख व्यक्त गरे । ‘दूषित पानी पिउँदा कतै रोगले समात्ने हो कि भन्ने डर छ’, उनले भने ।

स्वास्थ्य सुरक्षाको पहुँच नपुगेको उक्त वडावासीहरू वषौंदेखि खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । त्यस्तै, खानेपानीको समस्या भोक्दै आएका नवीन साउँदले सरकार छ कि छैन भन्ने कुनै महसुस गर्न नपाएको बताए । ‘हामी त नेता र जनप्रतिनिधि चुनावको बेला मात्र देख्छौँ, त्यसपछि त उनीहरू कहाँ जान्छ के गर्छन् थाह नै हुँदैन’, उनले भने ।

उनले वषौंदेखि खानेपानीको समस्या झेल्दै आएका चुरेबासीको समस्या नेताहरूका लागि चुनावी नारा मात्रै हुने र नारा नारामै सिमित रहेको बताए । ‘हामी खोलाको दूषित पानी पिउन बाध्य छौँ, तर यस विषयमा सरोकारवाला निकायलाई जानकारी दिँदा पनि बेखबरजस्तै भएका छन्,’ उनले भने ।

यता वडा अध्यक्ष प्रेमबहादुर साउँदले बाढीले खानेपानीका मुहान र पाइपलाइन बगाएकाले समस्या भएको हुनसक्ने बताउँदै तत्काल समस्या समाधान गरिने बताए । 

खानेपानीको समस्या हटाउन आकासे पानीलाई जम्मा गर्न घैंटे ट्यांकी पनि बनाइएको र कतिपय ठाउँमा बनाउने क्रम जारी रहेको बताए । 
उनले खानेपानीको समस्या दीर्घकालीनरुपमा समाधान गर्नका लागि गुरुयोजना बनाएर प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्ने बताए ।