close

कागेश्वारी मनोहराद्वारा गाईबाच्छा उद्धारका लागि एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

कागेश्वारी मनोहराद्वारा गाईबाच्छा उद्धारका लागि एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न २३ लाख आर्थिक सहयोग गरेको छ ।

नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई २३ लाखको चेक हस्तान्तरण गरेका हुन् । 

प्राप्त सहयोगले सडक, मठमन्दिर एवं सार्वजनिकस्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्स खरिद गरिने भएको छ ।

अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ ।

एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताए । यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ ।

सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशील असहाय गाईबाच्छा संरक्षण अभियानको आश्रयस्थलमा हाल करिब दुई सय गाईबाच्छाले संरक्षण पाइरहेका छन् । अभियानअन्तर्गत हरेक दिन सडकमा अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गरिँदै आएको छ । 

स्वयंसेवीस्तरमा सञ्चालित अभियानमा व्यापक जनसमर्थन रहँदै आएको छ । समर्थनस्वरूप स्थानीयवासी र टाढाटाढाबाट समेत जन्मदिन मनाउन असहाय गाईबाच्छा संरक्षणस्थलमा सहयोगीको भीड लाग्ने गरेको छ ।

एम्बुलेन्सको आगमनसँगै अभियानमा नयाँ आयाम थपिने भएको छ । 

आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ । अभियानका लागि नगरपालिकाको वडा नं ८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ । कोषको गुरुयोजनाअनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ ।