close

डोल्पालीलाई संविधान दिवसभन्दा घाँस प्यारो

घाँँसको सिजन र संविधान दिवस एकैपटक परेपछि डोल्पालीलाई छोएन संविधान दिवसको रौनकले

डोल्पालीलाई संविधान दिवसभन्दा घाँस प्यारो

घाँँसको सिजन र संविधान दिवस एकैपटक परेपछि डोल्पालीलाई छोएन संविधान दिवसको रौनकले

Trulli
ADVERTISEMENT

काठमाडौं । सोमबार अर्थात् असोज ३ गते देशभरका तीनै तहका सरकारले औपचारिक रुपमा संविधान दिवस मनाए । तर, डोल्पाको डोल्पो बुद्ध गाउँपालिकामा संविधान दिवसको रौनकले छोएन । 

हिमाली जिल्ला भएकाले स्थानीय तथा वडाध्यक्ष सबै लेकतिर घाँस काट्न गएकाले गाउँपालिकामा संविधान दिवस नमनाइएको गाउँपालिका उपाध्यक्ष पेम्मा दोर्जे गुरुङले जानकारी दिए ।

‘गाउँमा कर्मचारी छैनन्,‘ उनले भने, ‘संविधान दिवस र घाँस काट्ने सिजन एउटै परेकाले गाउँपालिका भएको केन्द्रका जनप्रतिनिधि र सबै स्थानीय घाँस काट्न गएका छन् । गाउँपालिकामै कोही  छैनन् । घाँस काट्न गएकाहरू हप्ता दिन उतै बसेर आउँछन् ।’ 

१५/२० जनाको कर्मचारीको दरबन्दी भए पनि पालिकामा अहिले ३/४ जना मात्रै कर्मचारी भएको उनले बताए । ‘पालिकामा करिब २० जनाको दरबन्दी भए पनि ३/४ जना मात्रै कर्मचारी छन् । र, केही कर्मचारी पनि घाँस काट्न गएका छन् ।’

यस्तै, उनले  गाउँपालिकामा अहिले सबै कर्मचारी नभएकाे बताउँदै डोल्पो गाउँपालिकाका प्रशासकीय अधिकृत पनि अडिट सकाएर गएकाे र केही दिनमा मात्रै आउने उनले बताए । 

गाउँपालिकामा ३ वटा वडा रहेको बताउँदै हिउँ पर्ने समय नजिकिँदै गरेकाले वडाध्यक्ष र अन्य जनप्रतिनिधि घाँस तथा अन्य खाद्यबालीको जोहोमा लागेको उनले बताए । 

‘गाउँपालिकाको केन्द्र रहेको वडाध्यक्ष तथा जनप्रतिनिधि जंगलतिर घाँस काट्न गएका छन् । त्यसैगरी अरू वडाहरुमा पनि घाँस र खाद्यन्नको सिजन छ । हामीले उनीहरूलाई संविधान दिवस मनाउनु वा नमनाउनु भनेर भनेका छैनौँ । पालिकामा कुनै संविधानको  रौनक छैन ।’

‘हिमाली जिल्ला भएकाले सधैँ घाँस पाइँदैन ।अब हिउँ पर्ने बेला भयाे । त्यसैले घाँस तथा बाली नाली लगाउनुपर्छ । तीन दिनअघि सबै घाँस काट्न जंगलतिर गएका छन् । उनीहरू एक हप्ता उतै बसेर आउँछन्,’उनले भने । 

संविधान मनाउन केन्द्रीय सरकारबाट पत्र पठाएको थियो पाउनु भएन भन्ने प्रश्नमा उनले भने, 'त्यस्तो पत्र केही आएन । ईमेल चेक गर्ने आइटका कर्मचारी पनि बाहिर छन् । त्यही भएर पत्रबारे केही थाहा भएन ।'