close

एकल महिलालाई बाख्राका पाठापाठी वितरण

एकल महिलालाई बाख्राका पाठापाठी वितरण

Trulli
ADVERTISEMENT

मोरङ। विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । 

वडाले ‘लक्षित वर्ग उत्थान कार्यक्रम’अन्तर्गत आम्दानीको स्रोत नभएका एकल महिलाका लागि घरमै बसेर आर्थिक उपार्जन गर्नसक्ने गरी दिगो आर्थिक स्रोतको पहिचान गरी पाठापाठी वितरण गरिएको वडाध्यक्ष कुमार कँडेल (राजन)ले बताए।

क्यान्सरका कारण श्रीमान् बितेपछि एक्लै सङ्घर्ष गरेर जीवन बिताइरहेकी स्थानीय सीता नेपाली वडाले सहयोग गरेपछि खुसी भएकी छिन्। ‘श्रीमान् बिरामी पर्दा पनि वडाध्यक्षले सहयोग गर्नुभएको थियो । श्रीमान् बितेपछि छोराछोरी पढाउने, हुर्काउने जिम्मा आफैलाई आएको छ । वडाले सहयोग गरेको छ, अब यसैलाई मलजल गरेर अगाडि बढ्दै जानुछ’, उनले भनिन्।

आर्थिक अभावका कारण जीविकोपार्जनका लागि सङ्घर्ष गरिरहेका दुई एकल महिला भानी धिमाल र रेखा उराउ पनि वडाले बाख्राका पाठापाठी लिएर सहयोग गरेकामा खुसी लागेको बताउँछिन्। उराउ भन्छिन्, ‘श्रीमान् बितेपछि बिहान बेलुका हातमुख जोड्नै गाह्रो भइरहेको अवस्थामा छोराछोरीलाई पढाउन किताब, कपी, डटपेन कसरी किन्ने भन्ने पिरलो परिरहन्थ्यो । अब यिनै पाठापाठीलाई स्याहार गर्छौं र आयआर्जनको बाटो बनाउँछौँ ।’

एकल महिलाको जीवनस्तर उकास्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७९÷८० को वडास्तरीय बजेटअन्तर्गत रू एक लाख विनियोजन गरी नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष राजनकुमार कँडेललगायतले बाख्राका पाठापाठी वितरण गरेका हुन्।