close

बसन्तपुरको डबलीमा थाहा नगरपालिका (फोटो फिचर)

बसन्तपुरको डबलीमा थाहा नगरपालिका (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । बसन्तपुरको डबली छेउ पुग्ने बित्तिकै मकवानपुरको थाहा नगरपालिकाको दृश्य प्रतिबिम्बित हुन्छ । डबलीमा राखिएको फोटोहरूले जोकोहीको आँखा लोभ्याउँछ । 

सो क्षेत्रमा नपुगेका व्यक्तिले फोटोमार्फत् थाहाबारे जानकारी मात्रै पाउँदैनन्, त्यही पुगेको आभाषसमेत दिलाउँछ । डबलीमा पुगेकाहरू फोटोबारे जानकारी लिन त कोही दिन व्यस्त छन् । त्यसमध्ये एक हुन्, फोटोग्राफर गणेश विष्ट । 
विष्ट आफूलाई प्रकृति प्रेमी फोटोग्राफरको रूपमा लिन्छन् । आफू प्रकृति प्रेमीसँगै थाहाको स्थानीय बासिन्दा भएकोले आफूले देखेका र क्यामेरामा कैद गरेका तस्बिरलाई प्रदर्शनीमा राखिएको बताउँछन् । 

उनका अनुसार प्रदर्शनीमा विगत सात वर्षदेखि कैद गरेका ६३ वटा फोटोहरू राखिएका छन् । सो फोटोहरूमार्फत थाहा पालिकाबारे जानकारी लिन वा दिन सक्ने विश्वास उनको छ । 

‘प्रदर्शनीमा ७ वर्षदेखि कैद गरिएका तस्बिरहरू छन्,’ उनले भने, ‘थाहाको सांस्कृतिक, पर्यटकीय, प्राकृतिक, कृषिलगायत विभिन्न क्षेत्रको दृश्यहरू प्रदर्शनीमा राखिएको छ।’

गत शुक्रबारदेखि सञ्चालित प्रदर्शनी आइतबारसम्म चल्ने उनले बताए । प्रदर्शनीमा राखिएका फोटोहरूलाई विक्री गर्ने व्यवस्थासमेत मिलाइएको उनले बताए । 
प्रदर्शनीमा सहभागी भएका अवलोकनकर्ताले उत्साहपूर्ण रूपमा फोटोहरू नियाल्दै आएको उनले पालिका खबरलाई बताए । ‘म पनि सिक्दै र गर्दै आएको छु । सोही क्षेत्रको स्थानीय भएकोले मलाई धेरै ज्ञान पनि थिएन,’ उनले भने, ‘प्रदर्शनीमा राखेपछि केहीले सुझाव दिनु भएको छ । यसले पनि थप सिक्नै मौका पाएको छु ।’

एकल फोटो प्रदर्शनी गरेका उनले १०० फोटो राख्ने उद्देश्य लिएता पनि ठाउँ अभावले गर्दा ६३ मात्रै प्रदर्शनीमा राखिएको जानकारी दिए । 

थाहामा पुगे पनि नदेखेको दृश्य फोटोमा देख्न पाएको भन्दै अवलोकनकर्ताले खुसी व्यक्त गरे । प्रदर्शनी अवलोकनका लागि पुगेका विश्वराम मल्लले फोटोमा नयाँ स्थानहरू देखेको बताए । 

‘हामी सो क्षेत्रमा पटक पटक गएर आएका छौँ । तर यहाँ राखेका सबै स्थानमा पुगेका रहेनछौँ,’ उनले भने, ‘अब जाँदा ती क्षेत्रमा पनि जाने छौँ । फोटो हेरेपछि पुन घुम्न जाने रहर आयो ।’ 

उनले फोटोग्राफरले सो पालिकाको पर्यटकीय क्षेत्रबारे जानकारी दिएको धन्यवादसमेत दिए । ‘मैले सामाजिक सञ्जालमार्फत जानकारी पाए । अनि हेर्न आइहालेँ,’ उनले भने, ‘एकल फोटो प्रदर्शनी भए पनि थाहाको परिचय दिने रहेछ ।’ 

फोटो प्रदर्शनीमार्फत पालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास स्थानीय पर्यटन व्यवसायीको छ । 
स्थानीय पर्यटन व्यवसायी अर्जुन सिंह ठकुरीका अनुसार विगत दुई वर्षदेखि थाहामा पर्यटक आगमनका कम भएको छ । 
‘कोरोना महामारीपछि थाहामा पर्यटक सङ्ख्यामा कमी आयो,’ उनले भने, ‘थाहाबारे जानकारी नभएर पनि कमी आएको हुन सक्छ ।’ 

‘पालिकामा ‘वन डे वन नाइट’ पर्यटकको लक्ष्य लिएका छौं,’ उनले भने, ‘त्यसको लागि स-साना होमस्टेदेखि तीन तारे रेष्टुरेन्टसम्म सञ्चालनमा ल्याएका छौँ ।’ 

तर, पर्यटकको आगमनको कमीले गर्दा ती व्यवसाय धरासायीमा परेको र फोटो प्रदर्शनीमार्फत सहयोग पुग्ने विश्वास उनको छ । थाहा नगरपालिकाको आयोजना र इन्द्र सरोवर गाउँपालिकाको समन्वयमा भएको सो फोटो प्रदर्शनीमा १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले बताए । 

फोटो प्रदर्शनीको लागि नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख विष्णुबहादुर विष्टले बताए । 
नगरप्रमुख विष्टले पालिकामा पर्यटन प्रवर्द्धनका लागि प्रदर्शनी गरिएको जानकारी दिए ।  प्रदर्शनी सकिएसँगै ती फोटोहरू पालिकामा ल्याउने र विक्री गरिने बताए । 

‘प्रदर्शनीमा पनि पालिकाको रसिदमा फोटो विक्री गरिने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘विक्री नभएका फोटो पालिकामा ल्याइने छ ।’फोटोहरू रेस्टुरेन्ट र होटेलमा प्रयोग हुने भएकोले पछिसम्म पनि विक्रीमा राखिने नगरप्रमुख विष्टले बताए ।