खल्लो गाईजात्रा : घिन्ताङघिसी बिनाको सापारु


  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा जब कुनै जात्रा या पर्व नजिकिन्थ्यो– धिमेबाजा,  धाँ, खिं अनि भुछ्याले चोकसँगै गल्ली गुन्ज्यमान हुन्थ्यो । संस्कृतिको संरक्षण मात्रै नभई प्रतिस्पर्धा गर्नलाई समेत सबैले जोडदार प्रस्तुती दिन्थे । झन् सापारु अर्थात् गाईजात्राको दिन त नगरभित्र मात्रै नभई बाहिरी सडकहरु समेत धिमेबाजासँगै घिन्ताङघिसीमा युवासँगै बृद्धबृद्धा र बालबालिका रमाइरहेका हुन्थे । 

 

तर, यस वर्षको गाईयात्रा विगतका वर्षका भन्दा फरक भए । न त बाजा बजे, न त जुधाए घिन्ताङघिसीका लठ्ठी । केवल गाईको प्रतीक स्वरुप बनाईका ताहामचा, ताहासा, गाई, माटोको गाई, शिव पार्वतीलाई मात्रै नगर परिक्रमा गराए । 

 

कोरोना संक्रमणको प्रभाव बढिरहेका बेला भक्तपुर नगरपालिकाले स्थानीयलाई गाइजात्रा औपचारिकतामा सीमित गर्न अनुरोध गरेको थियो । नगरपालिकाले बाजागाजा सहित नाच नराख्ने एक ताहासामा २० जना भन्दा बढी सहभागि नहुन आग्रह गरेको थियो । 

 

पालिकाको निर्देशन पालना गर्दै मनाउँदा यसपटकको गाईजात्रा खल्लो भएको स्थानीयले बताए । ‘स्वास्थ्यभन्दा ठूलो केही रहेनछ’ एक स्थानीयले पालिका खबरसँग भने ।

 

जात्रा लक्षित गरी केही स्थानीयले नाचका लागि निकै अगाडिदेखि तयारी गरे पनि नाच प्रदर्शन गर्न भने पाएनन् । ‘बाजा र नाचविनाको जात्रा खल्लो हुँदो रहेछ ।’ दर्शक श्याम श्रेष्ठले बताए ।  

 

सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाका स्थानीयले भक्तपुर नगरभित्र ताहासा, ताहामचा परिक्रमा गराउन ल्याउछन् । तर छिमेकी पालिकामा स्थानीय तहले जात्राबारे सूचना प्रकाशन गरेको पाईंदैन । त्यसैले केही स्थानीयले नगरभन्दा बाहिर बाजा र नाचसहित जात्रा प्रदर्शनी गरेका थिए । 

 

‘हामीले नाच सिकायौँ । त्यसलाई प्रर्दशनी नगरभन्दा बाहिर गरायौँ । नगरभित्र जाने समयमा नाच र बाजालाई बन्द गराई ताहासा मात्रै नगरभित्र परिक्रमा गरायौँ’ चाँगुनारायण नगरपालिकाका सुमन आगन्चाले बताए । 

 

केही वर्षयता बाक्लो नेवार बस्ती भएका स्थानीयले आफ्नै टोलमा जात्रा प्रर्दशनी गर्ने गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नंं. ८ सुडालका स्थानीय र ९ सौडोलका स्थानीयले आफ्नै क्षेत्रमा ताहासा परिक्रमा गराएका छन् । 

 

उता मध्यपुर थिमीका नगरपालिकाका स्थानीयले आफ्नै क्षेत्रमा ताहासा, ताहामचा लगायत गाईको प्रतीक नगरमै परिक्रमा गराएका छन् ।

 

पछिल्लो समय ताहासालाई मोटरसाइकलमा चढाएर परिक्रमा गराएका छन् ।  बाँससँगै कपडाको प्रयोग गरी ताहासा बनाइएको हुन्छ । त्यसलाई बोक्न धेरै मान्छेको आवश्यक पर्ने र आजभोलि मान्छे खोज्न समस्या भएकोले ताहासालाई मोटरसाईकलमा राखी परिक्रमा गराएको उनीहरु बताउँछन् ।