close

एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा महत

एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन् : प्रवक्ता डा महत

Trulli
ADVERTISEMENT

चितवन–नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताए । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले  भने,  ‘कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन ।’ 


 
उनले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताए । उनले भने, ‘गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो ।’ एमसिसीमा कुनै देशद्रोह नभएको उनले बताए । प्रवक्ता डा महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भने, ‘नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?’


 
सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उनले सार्वभौम संसद्को अधिकार भएको बताए । दलहरुका  एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उनले भने, ‘संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु पर्‍यो ।’


 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उनले भने, ‘प्रचण्डले एमसिसी पास गर्छौं भने सिग्नेचर गरेका हैनन् र ?’  विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गरे । उनले भने,  ‘एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्को कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?’