close

फोहोरमैला व्यवस्थापन जनकपुरधामका सबै उम्मेदवारको मुख्य एजेन्डा

फोहोरमैला व्यवस्थापन जनकपुरधामका सबै उम्मेदवारको मुख्य एजेन्डा

Trulli
ADVERTISEMENT

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेद्वारले जनकपुरधाम नगर क्षेत्रको फोहोर व्यवस्थापनलाई चुनावी मुद्दाको रूपमा अघि सारेका छन् ।

 

विभिन्न दल तथा स्वतन्त्र रूपमा नगरप्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारले चुनौतीपूर्ण देखिएको जनकपुरधाम नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनलाई चुनावी मुद्दा बनाएका हुन् । 

 

उम्मेद्वारले नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिलसाइट निर्माण गरी फोहोरलाई मोहोरमा रूपान्तरण गर्ने मुद्दा अघि सारेका छन् । 

 

सत्तारुढ गठबन्धनका साझा उम्मेद्वार लालकिशोर साहले फोहोरमैला व्यवस्थापन गरी जनकपुरधामलाई आकर्षक एवं आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धतापत्र जनाएका छन् । 

 

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार मनोज चौधरीले जनकपुरधाम उपमहानगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिलसाइट निर्माण गरी फोहोरबाट मोहर बनाउने सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । 

 

जनकपुरधामको परिक्रममा सडकलगायत सार्वजनिक स्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रको प्रत्येक २०० मिटरमा फोहोरमैला सङ्कलन गरी सञ्जाल निर्माण गर्ने चौधरीको सङ्कल्पपत्रमा उल्लेख छ । 

 

नेपाली कांग्रेस परित्याग गरी उठेका स्वतन्त्र उम्मेद्वार मनोजकुमार साहले जनकपुरधाम नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् । 

 

आफू निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरपालिकाभित्रको फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिलसाइट निर्माण तत्काल सुरु गर्ने प्रतिबद्धता गरेका छन् । 

 

नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेद्वार जानकीराम साहले पनि आफ्नो ११ बुँदे प्रतिज्ञापत्रमा जनकपुरधाम उपमहानगर क्षेत्रको फोहोरमैला व्यवस्थापनमा जोड दिएका छन् । 

 

आफू निर्वाचित भएको ६ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि डम्पिङसाइटको व्यवस्था गर्ने उनले बताएका छन् ।