close

समृद्व गलकोट निर्माणका लागि वाम–लोकतान्त्रिक गठबन्धन बनेको पुनको स्पष्टीकरण

समृद्व गलकोट निर्माणका लागि वाम–लोकतान्त्रिक गठबन्धन बनेको पुनको स्पष्टीकरण

Trulli
ADVERTISEMENT

बागलुङ ।  स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनैतिक दल र उम्मेदवार मतदातासँग भोट माग्ने रस्साकसीमा छन् । 

 

जसका कारण गाउँदेखि सहरबजार जताततै चुनावी माहोल तातेको छ । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेद्वार आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न यतिबेला तल्लीन छन् ।

 

उम्मेदवार मतदाताको घरआँगन, खेतबारी, बाटोघाटो र खरबारीमा भोट माग्नका अलावा लस्करसहित पुगिरहेका छन् । जनताले आफ्ना गुनासा सुझाव सल्लाह र बितेको पाँच वर्षको समीक्षा उम्मेद्वारसँग गरिरहेका छन् । 

 

चुनावी माहोलले सबैलाई छोएको छ । चोक चोकमा अहिले स्थानीय तहको निर्वाचनकै विषयमा चियागफ हुने गरेको छ । चुनावमा कसले बाजी मार्छ भन्ने विषयमा अड्कलबाजीसमेत हुन थालेको छ ।

 

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । चुनावी प्रचार प्रसारको अन्तिम दिन उम्मेद्वार र राजनीतिक दल आ–आफ्नो सक्रियता तदारुकताका साथ अगाडि बढाएको बताएका छन् ।

 

लोकतान्त्रिक–वाम गठबन्धनले गलकोट नगरपालिका–१० पाण्डवखानीमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका पूर्वसदस्य नरबहादुर पुन (निरज) ले नेपालको संविधान २०७२ लाई रक्षाका लागि आसन्न स्थानीय निर्वाचनमा अहिलेको पाँच दलीय गठबन्धनलाई मतदान गरी विजयी गराउनुपर्ने उनले बताए ।

 

उनले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता, अहंकारी प्रवृत्तिको अन्त्यका लागि वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताए । 

 

पुनले निवर्तमान गलकोट नगरको नेतृत्वले विकास निर्माणका धेरै कार्यक्रमको सुरुवात गरेको हुँदा त्यसलाई एउटा उचाइमा पुर्‍याउँदै विकसित र समृद्ध गलकोट निर्माण गर्न गठबन्धनलाई विजयी गराउनु अहिलेको आवश्यकता रहेको भन्दै मतदाताले कुनै पनि व्यक्तिको लहैलहैमा नलागी गठबन्धनका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

 

सो अवसरमा गलकोट नगरपालिकाका नगरप्रमुख पदका उम्मेद्वार भरत शर्मा गैरेले आफू नेतृत्वको पहिलो नगरपालिकाको टिमले गलकोट नगरको मुहार फेर्न थुप्रै कामको सुरुवात गरेको र बाँकी रहेका कामलाई पूरा गरी नमुना नगरपालिका निर्माण गर्न मतदान गर्न अपिल गरे ।

 

त्यस्तै, गलकोट नगरपालिकाका नगर उपप्रमुख पदका उम्मेद्वार फमलाल निउरेले देश अहिले अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताए । यो गठबन्धन निर्माण भएको उनको भनाइ छ । 

 

निउरेले प्रतिगमनविरुद्ध मिलेर बनेको गठबन्धनको मर्म, भावना र उद्देश्यअनुरूप गलकोट नगरलाई समानुपातिक रूपमा विकास गरी समृद्ध गलकोट निर्माण गरिने उल्लेख गरे । 

 

सो अवसरमा नेपाली काँग्रेसका पूर्वजिल्ला कोषाध्यक्ष उमेश गौतम, वाम–लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार समितिका सचिव टंक केसी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गलकोट नगर सदस्य छम काउचालगायतले मतादातालाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

 

कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालिका–१० का कार्यवहाक सभापति दीप घर्तीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो । 

 

गठबन्धनले पाण्डवखानी रमुवामा पनि चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।