close

संकटको समयमा उद्योगी व्यवसायीले सरकारलाई सहयोग गर्नुपर्छ : गृहमन्त्री खाँण

संकटको समयमा उद्योगी व्यवसायीले सरकारलाई सहयोग गर्नुपर्छ : गृहमन्त्री खाँण

Trulli
ADVERTISEMENT

रुपन्देही । उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको चौथो प्रदेश सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर वाणिज्य संघ, १३१ एसोसिएट गरी करिब ३०० जनाको सहभागिता रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले आर्थिक समस्या र सरकारको असहयोग बारेमा कुरा उठाएका थिए ।

सभामा बोल्ने उद्योगी व्यवसायीले अहिले देशमा देखिएको आर्थिक समस्या इतिहासकै ठूलो समस्या भएको बताए । उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले अहिले आर्थिक गतिविधि सुस्त रहेको जिकिर गर्दै यस्तो अवस्थामा आठ प्रतिशत विकास वृद्धिदर राखेर आएको बजेट निजी क्षेत्रले विश्वास गर्न नसकेको बताए । 

उनले बैंकिङ क्षेत्रमा देखिएको तरलताका कारण बहुपक्षीय समस्या निम्त्याएको बताए । सरकारद्वारा एकै प्रकृतिको उद्योगमा अलग–अलग करको दर कायम गरेको, कच्चा पदार्थमा अन्तःशुल्क असुल गरेको लगायतको आरोप लगाउँदै सरकारले आर्थिक अवस्था सुधारको पक्षमा लाग्न आग्रह गरेका थिए ।

 कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रदेशभित्रका उद्योगी व्यवसायीलाई जिम्मेवार र उत्तरदायित्वसहितको व्यवसाय गर्न उत्प्रेरित गरिने बताए । 

उनले प्रदेशलाई आर्थिक, सांस्कृतिक रुपमा समुन्नत बनाउन व्यवसायी तत्पर रहेको र यस अभियानलाई सफल पार्न केन्द्र, प्रदेश र स्थानीय सरकार र निजी क्षेत्रबीच हातेमालो आवश्यक रहेको औँल्याए ।

प्रदेशसभालाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको गम्भीर अवस्थामा पार पाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए

संकटको समयमा उद्योगी व्यवसायीले पनि सरकारलाई सहयोग गर्नु पर्ने उनले जिकिर गरे । सरकार र यसका निकाय सञ्चालनका लागी रकमको आवश्यकता पर्ने र उक्त रकम राजश्वजस्ता स्रोतबाट आउने भएकाले अहिलेको जटिल अवस्थामा सरकारलाई सहयोग गर्न व्यवसायीलाई उनले आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सिद्धार्थनरनगर पालिकाका प्रमुख ईश्तियाक अहमद खाँणलगायतको उपस्थित थियो ।