close

कुनै उम्मेदवारले टेकेनन् डोमबस्ती

कुनै उम्मेदवारले टेकेनन् डोमबस्ती

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीकाे राजविराज नगरपालिका–९ मलेठका रमेश मरिकले रेडियोबाट आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुन लागेको सूचना त पाए। तर, उनी अहिले कसलाई र कसरी मत हाल्ने भन्ने कुरामा अन्योल देखिन्छन्। 

गाउँदेखि सहरसम्म चुनावको चर्चाले व्यापकता पाइरहँदा डोम बस्तीमा भने अझै कुनै चुनावी चहलपहल छैन। निर्वाचनको मिति नजिकिँदै जाँदा मत माग्न डोम बस्तीमा अहिलेसम्म उम्मेदवार तथा दलका नेता कार्यकर्ता पुगेका छैनन् । त्यसैले मरिक लगायतका स्थानिय आगामी निर्वाचनमा कुन उम्मेदवारलाई मत हाल्ने र कसरी मत हाल्ने विषयमा अन्योलमा परेका हुन् । 

“नत अहिलेसम्म कुनै नेता भोट माग्न आएका छन्, नत भोट कसरी हाल्ने भन्ने सिकाउन कोही आएका छन्”, मरिक भन्छन्, “रेडियो एफएमबाट चुनाबकाबारे खबर त पाएका छौँ, तर कसरी भोट हाल्ने भने हामीलाई केही थाहा छैन्।” 

डोम बस्तीदेखि करिब एकसय मिटरपूर्वमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको सम्पर्क कार्यालय छ । पाँचसय मिटर दक्षिणमा एमाले–जसपा तालमेलका उम्मेदवारको सम्पर्क कार्यालय छ ।

राजविराज–रुपनी सडक खण्डको छेउमै रहेको उक्त बस्तीमा सात घरपरिवार डोम समुदायको बसोबास छ । सुँगुरपालनसँगै बाँसको सामग्री बनाएर गुजारा गर्दै आएका डोम बस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारीलगायतका अवसरबाट समेत वञ्चित छ । 

बिहान र बेलुकाको जोहो गर्न मजदुरी गर्नमै व्यस्त रहने बस्तिकै राजेश मरिक भन्छन्, “पटकपटकको चुनावमा मत हालेर प्रतिनिधि जिताएर पठायौँ तर, कसैले हाम्रो समस्या बुझ्न सकेको छैन ।” त्यसैले आफ्नोको समस्या बुझ्ने र समस्या समाधान गर्ने उम्मेदवारलाई मत दिने उनको भनाइ छ ।

निर्वाचनका बेला भोट बैंकका रूपमा जनतालाई प्रयोग गरे पनि चुनाव जितेपछि नेताहरू बस्तीमा फर्केर नआएको यहाँका मतदाता गुनासो गर्छन् 

मलेठस्थित आधारभूत विद्यालयसँगै टाँसिएको डोम बस्तीका डोम परिवार ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । फुसको छाप्रो हालेर बस्दै आएका त्यहाँका बासिन्दाले आफूहरुका लागि सुरक्षित घर बनाइदिने उम्मेदवारलाई यसपालि मतदान गर्ने बताउँछन् । 

“हामीले मत दिएर नेताहरुलाई जिताएर पठाउँछौँ तर हाम्रो अहिलेसम्म नत उचित बासको व्यस्था हुन सकेको छ नत हाम्रो रोजगारीकै सुनिश्चितता हुन सकेको छ”, कारी मरिक भन्छिन्, “ हाम्रो भोट लिएर थुप्रै नेताहरु कुर्सीमा पुगे, तर हाम्रो समस्या ज्यूँका त्यूँ छन् ।”

त्यसैले सुरक्षित घर बनाइदिने उम्मेदवारलाई मात्र आफूहरुले मतदान गर्ने उनको भनाइ छ । “चुनावका बेला यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर मत लिने, तर चुनाव जितेपछि हाम्रो समस्या बुझ्न एकपटक आउँदैन्”, स्थानीय रेखा मरिकले भन्नुभयो, “मत हाल्न हामी आतुर छौँ, तर कसलाई र कसरी मत हाल्नेमा अन्योलमा छौँ ।” 

यता बाम–लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य पदका उम्मेदवार उमेशकुमार यादवले घरदैलोमा व्यस्त भएकाले सो बस्तीमा पुग्न नसकेको र आजभोलिसम्ममा पुग्ने बताउँछन् । “अरु कुनै कारणले होइन, व्यस्तताका कारण मत माग्न नभ्याएको हो”, उनी भन्छन्, “सकेसम्म आजै वा भोलिसम्म त्यो बस्तीमा पुग्छौँ ।”

उक्त क्षेत्रबाट प्रतिनिधिसभातर्फ एमाले–जसपा तालमेलबाट जसपा अध्यक्ष उपेन्द्र यादव, बाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा सीके राउत लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीनै  उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

सप्तरी सदरमुकाम र राजविराजसहित महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका रहेको यस क्षेत्रमा कूल ९५ हजार तीन सय ९४ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा तीमध्ये ६४ प्रतिशत अर्थात् करिब ६२ हजार मत खसेको थियो । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महदेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा लोसपाले जितेको छ भने  कांग्रेसले तिलाठी कोइलाडी तथा जसपाले राजविराज नगरपालिकामा जीत हात पारेको छ । यसपटक निर्वाचनामा पनि स्थानीय तहकै जति मत खस्ने अनुमान गरिएको छ । 

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन राजपा र कांग्रेससमेतको साथ पाएर तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका उपेन्द्र यादवले जीत हात पारेका थिए ।