close

थापाविरुद्ध धावा बोल्दै लिङ्देन, मनीषाको साथ

थापाविरुद्ध धावा बोल्दै लिङ्देन, मनीषाको साथ

Trulli
ADVERTISEMENT

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमालेको चुनाव चिन्हमा प्रतिनिधिसभाको चुनाव लड्न लागेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जसरी भएपनि हराउने अभियान थालेको छ। त्यसैले मकवानपुर-१ लाई राप्रपाले विशेष चासो दिन थालेको छ।

राप्रपाको यो अभियानमा अध्यक्ष राजेन्द्र लिङ्देन कम्मर सकेर लागेका छन्। पछिल्लो समय राप्रपाको समर्थनमा खुलेकी बिपी कोइरालाकी नातिनी मनीषा कोइराला समेत यो अभियानमा सरिक हुन थालेकी छन्। अहिले लिङ्देन र अभिनेत्री कोइराला कमल थापा उठेको क्षेत्र मकवानपुर-१ मा धावा बोल्ने शैलीमा प्रस्तुत हुन थालेका छन्।

गत बिहीबार मकवानपुर आएर भाषण गरेका लिङ्देन एक हप्तापनि नपुग्दै फेरि मकवानपुर पुगेका थिए।  बिहीबार दिउँसो मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली फुटबल मैदानमा पार्टीले आयोजना गरेको आमसभामा सहभागी भएका लिङ्देनले मकवानपुरलाई केन्द्रमा राख्दा यो क्षेत्र विशेष “फोकस” मा पनि परेको छ। लिङ्देनसँग राप्रपाको अध्यक्षमा पराजित थापालाई संसदीय निर्वाचनमा पनि हराउने रणनीतिमा राप्रपाका नेता र कार्यकर्ता पनि भगमग्दुर साथ दिएका छन् । साथै थापालाई चुनाव चिन्ह दिइएपछि रुष्ट एमाले नेता तथा कार्यकर्ता समेत अहिले राप्रपाका उम्मेदवार दिपक सिंहतर्फ खुल्न थालेका छन्।

जीवनको अन्तिम चुनाव भनेर मत माग्न व्यस्त राप्रपा नेपाल अध्यक्ष थापा पनि अहिले आक्रामकरुपमा प्रचारमा लागेका छन्। त्यही कारण राप्रपा अध्यक्ष लिङ्देन उनलाई हराउने योजनासहित मकवानपुरमा धावा बोल्दै छन्। राप्रपाले मकवानपुरका सबै क्षेत्रमा उम्मेदवार उठाए पनि थापालाई हराउनकै लागि यो क्षेत्रलाई केन्द्रमा राखेको देखिन्छ।

राप्रपाका सिंहले उम्मेदवार दर्ता गर्दादेखि लिङ्देन दैनिक उनको सम्पर्कमा रहेका छन्। यसले पनि लिङ्देनले मकवानपुरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राप्रपाका नेताहरू बताउँछन्। लिङ्देनले गएको बिहीबार थापाले निर्वाचन लड्न लागेको क्षेत्र मकवानपुर-१ को बकैया ४ मा सम्बोधन गरेका थिए। सोही दिन अभिनेत्री कोइराला पनि आउने भनिएको थियो। तर, अन्तिम समयमा उनको मकवानपुर भ्रमण रद्द भएको थियो। तर दुई दिनअघि हेलिकप्टर चढेरै कोइरालासहित लिङ्देन हेटौँडा उपमहानगरपालिका-१३ मा सम्बोधन गर्न आएका थिए।

यो स्थान पनि थापा उम्मेदवार रहेको क्षेत्र नम्बर १ मै पर्छ। दुवैपटक नै उनले थापाको निर्वाचन क्षेत्रमा सम्बोधन गर्नलाई विशेष चासोका साथ हेरिएको छ। झन्डै ४ दशकसँगै रहेर राजनीति गरेका थापा कै विरुद्धमा राप्रपाका केन्द्रीय सदस्य सिंहलाई उम्मेदवार बनाइएको छ। पार्टीको अध्यक्ष हार्ने बित्तिकै पूर्व राजाले आफूलाई हराउन सहयोग गरेको भन्दै थापा राप्रपा नेपाल पुनर्गठन गरी अध्यक्ष भएका थिए। त्यसपछि थापाले राजतन्त्रको एजेन्डा छाड्दै  हिन्दु राष्ट्रको मात्र एजेन्डा बोकेर हिँडेका छन्। लिङ्देन भने हिन्दु राष्ट्रसहित राजतन्त्रको पक्षमा छन्। अध्यक्षबाट पराजित भए पश्चात् थापाले लिङ्देन सँग पूर्वराजाको हस्तक्षेप भएकोले छानबिन गर्न समेत माग गरेका थिए।

मकवानपुरमा वैकल्पिक शक्तिका रुपमा राप्रपाको गतिविधि बढेपछि यहाँ दुईजना पुराना सहकर्मीकै बीच प्रमुख प्रतिस्पर्धा हुने हो कि भन्ने अनुमान हुन थालेको छ। थापाले आफ्नो भोट बढाउन र एमालेको भोट टिकाउन सके जित्न सक्ने देखिन्छ । उता सत्ता गठबन्धनलाई भने आफ्नो भोट सुरक्षित गर्नुपर्ने चुनौती छ। यता हेटौँडा उपमहानगरपालिकाको मेयरको निर्वाचनमा तेस्रो स्थानमा रहँदै लोकप्रिय मत ल्याएका सिंहलाई एमाले र गठबन्धनको मत चोरेर निर्वाचन जित्नुपर्ने बाध्यता छ।

यस अघि प्रतिनिधि सभामा आफू मात्रै राप्रपाको सांसद रहेको स्मरण गर्दै अध्यक्ष लिङ्देनले मकवानपुरमा आएर सिंहलाई संसदमा पटाइदिन आग्रह गर्दै भाषण गरिरहेका छन्। उनी भन्छन्, ” म एक्लै थिएँ, साथी माग्न मकवानपुर आएको छु, सिंहसहित राप्रपाका उम्मेदवारहरूलाई जिताएर पठाउन अनुरोध गर्दछु।”

मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्रमा आफ्ना उम्मेदवार भएपनि राप्रपाले १ नम्बर क्षेत्रमा सिंहलाई प्राथमिकतामा राखेको छ ।

कमल थापा यसअघि निरन्तर एमालेसँग पराजित बनेको भएपनि यसपटक एमालेकै चुनाव चिह्न र एमालेकै टिकट लिएर मैदानमा छन्। यसबाट एमालेका कतिपय कार्यकर्ता र मतदाता रुष्ट पनि छन्। २०३८ सालदेखि ७ पटक चुनाव लडेका थापाले २०४३ र २०५१ मा मात्र सफलता पाएका छन्। यस्तै सिंहले २०५४ सालदेखि ४ पटक चुनाव लडेपनि एकपटक पनि सफलता हात पारेका छैनन्। यो निर्वाचन सिंहका लागि मात्र हैन राप्रपा नेपालका अध्यक्ष लिङ्देनको समेत प्रतिष्ठासँग पनि गाँसिएकोले सर्वत्र चासो बढेको छ।

२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ तर्फ हेटौँडा उपमहानगरपालिकाका १५ वडासहित बागमती गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडा पर्छन्। यो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), एमालेको चुनाव चिन्हबाट राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपाका सिंहसँगै केही साना दल र स्वतन्त्र उम्मेदवारहरू मैदानमा छन्। -आइएनएसको सहयोगमा