close

सुरु भयो स्थिर समय

Trulli
ADVERTISEMENT

काठमाडौँ । पर्सि ४ मंसिर गते, आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थिर समय सुरु भएको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले अब चुनावी प्रचार गर्न पाउने छैनन्।

यो अवधिमा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न हुँदैन। मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि अर्थात् स्थिर समय तोकेको हो। मतदान नसकिएसम्म स्थिर समय कायम रहनेछ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला गोष्ठी आयोजना गर्न नपाउने आयोगद्वारा जारी आचारण निर्देशिकामा उल्लेख छ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

स्थिर समयमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न हुँदैन। यस्तै स्थिर समय सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने छ।

साथै एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगले जनाएको छ।

यसैगरी अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न समेत पाइँदैन।