close

संसद पुग्न सफल महासेठ दम्पत्ति

संसद पुग्न सफल महासेठ दम्पत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा आउने क्रम जारी छ । 

मतपरिणाम अनुसार कतिपय शिर्ष नेताहरुले हार व्यहोर्दै आएका छन् । तर,  भर्खरै राजनीतिमा पाईला चालेका दल र राजनीतिज्ञहरुले यही निर्वाचनबाट जीत हासिल गर्दा यस पटककाे निर्वाचन निकै राेचक बनेकाे छ ।  साथै, केही श्रीमान् श्रीमती दुबै संसदको यात्रा तय गर्न सफल समेत भएका छन् ।  धनुषा क्षेत्र नं ३ बाट नेकपा एमालेकी नेत्रृ जुली महतो महासेठ र धनुषा क्षेत्र नं ४ बाट उनका श्रीमान् अर्थात् नेकपा एमालेका सचिव रघुबीर महासेठ पनि एक हुन् ।  पहिले पनि स‌ंसदमा देखिसकेका यी दम्पत्ति पुनः संसदको यात्रा तय गरेका हुन् । 
  
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो निर्वाचित भएकी छिन् । जसपासंग गठबन्धनबाट उनी  निर्वाचित भएकी हुन् । 

एमालेकी महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार अनिल झालाई ९ हजार ६६९ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । लोसपाका झा सत्ता गठबन्धनबाट साझा उम्ममेदवार बनेका थिए । महतोले ३३ हजार ३५५ मत ल्याइन् भने झाले २३ हजार ६८६ मत ल्याए। 

त्यस्तै, धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी  भएका छन् ।  नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई  १२४ मतान्त्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।   एमालेका महासेठले ३२ हजार २३६  मत पाउँदा  कांग्रेसका यादवले ३२ हजार ११२ मत पाएका थिए  । 

दुई हेभीवेटबीच यहाँ कडा टक्कर चलेको थियो । सुरूवातदेखि नै निरन्तर पछाडि परेका महासेठ अन्तिममा विजयी भएका हुन् । उनलाई मिथिला नगरपालिका वडा नम्बर ११ को भोटले बलियो साथ दियो । सोमबार रातिसम्म यादवभन्दा महासेठ ७ देखि ९ सय मतले पछि थिए ।

मंगलबार बिहान मिथिला ११ को गणना थालेसँगै महासेठले लिड गरेका थिए । गत २०७४ को निर्वाचनमा पनि यादवलाई महासेठले पराजित गरेका थिए । त्यतिबेला माओवादीले महासेठलाई साथ दिएकाे थियो । एमालेबाट फुटेर बनेको नेकपा एसको पनि यस क्षेत्रमा प्रभाव छ । एकै जिल्लाका दुई निर्वाचन क्षेत्रबाट निर्वाचित भएकाे यो जोडी प्रतिनिधिसभामा पुगेको छ ।