close

बाजुरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियारको भूमिका विषयक अन्तर्क्रिया: सेवाग्राहीको व्यापक असन्तुष्टि

बाजुरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियारको भूमिका विषयक अन्तर्क्रिया: सेवाग्राहीको व्यापक असन्तुष्टि

Trulli
ADVERTISEMENT

बाजुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही प्रति नागरिकको तीव्र असन्तुष्टि देखिएको छ ।

आयोगको प्रादेशिक कार्यालय कञ्चनपुरले बाजुरामा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले अख्तियारको काम कारवाही सन्तोषजनक नभएको र पूर्वाग्रही भएको आरोप समेत लगाएका छन् ।

आयोगले सोमबार बाजुरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियारको भूमिका विषयक अन्तर्क्रिया आयोजना गरेको छ ।

उजुरी दर्ता भए पनि खोज अनुसन्धान फिलतो र आर्थिक चलखेलमा प्रभावित हुने गरेको आरोप स्थानीयको छ । बडीमालिका ४ का वडा अध्यक्ष अर्जुन नाथले आयोग र अडिटरलाई नै पैसा बुझाउनु पर्छ भनेर खुलेआम डिल हुने गरेको आरोप समेत लगाएका छन् ।

बाजुराबाट गएको वर्ष ३६ वटा उजुरी अख्तियारमा परेका छन् । तर ती मध्ये २० वटा फर्छ्यौट हुन बाँकी छन् । उजुरी परेका अधिकांश योजनाको अनुसन्धान नै नभई बीचमै मिलोमतोमा टुंगिने गरेको सम्म पनि नागरिकले अख्तियारको टिमलाई औपचारिक कार्यक्रममै आक्रोश पोखेका छन् ।

'समयमा काम हुदैन्, खुलेआम योजनाको कमिसन लिएको अवस्था छ । प्रमाणसहित दिएका उजुरीमा समेत कारवाही नहुने भएपछि अख्तियार प्रति जनविश्वास नै घटेको बाजुरा पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले बताएका छन् । उजुरी परेको र केही उजुरीको अनुसन्धान भएको सुनिए पनि कारबाही भएको उदाहरण नै छैन,' जैशीले भने । 

सरकारी कर्मचारीले नै अख्तियारको भूमिका प्रति आशंका व्यक्त गरेका छन् । उजुरी माथिको गहिरो अनुसन्धान नहुनु नै दुखत विषय हो । स्वतन्त्र र स्वायत्त निकायले आफ्नो संयन्त्र मार्फत नै अनुसन्धान र अध्ययनका लागि जिल्लामा नै संरचना निर्माण गरिनुपर्ने सुझाव शिक्षा विकास समन्वय इकाइ प्रमुख हर्कबहादुर सिंहको छ ।

अन्तर्क्रियामा रेडक्रस बाजुराका सभापति रमबहादुर शाहीले महाभारत बुझ्न सजिलो छ, अख्तियार बुझ्न गाह्रो भनेर ब्याङग्यसमेत गरेका छन् । बाजुराबाट परेका उजुरीको हालसम्म कारवाही भएको र दोषीले कारवाही भोगेको उदाहरण नै नभएकोले जसले जे गरे पनि हुन्छ, भन्ने मानसिकता बढेको यहाँका नागरिकको गुनासो छ ।

उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले अख्तियारले विश्वास बढाउने र राज्य र जनता माथि नै ठगी गर्नेमाथि दण्ड लगाउन सुझाव दिएका छन् । बाजुराका नौ वटा पालिका मध्ये गौमुलमा एउटा पनि उजुरी परेको छैन । सबैभन्दा बढी बडीमालिका नगरपालिकामा १३ वटा उजुरी परेका छन् । ती मध्ये ४ वटा फर्छ्यौट हुन बाँकी छन् । हिमाली गाउँपालिकामामा पनि ४ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरका शाखा अधिकृत चन्द्र कान्त बस्नेतले बताएका छन् । 

यस्तै गएको आर्थिक वर्षमा त्रिवेणीमा २, बुढीगंगामा ३, बुढीनन्दा, जगन्नाथ र स्वामिकार्तिक खापरमा २ र खप्तड छेडे दह गाउँपालिकामा १ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन् । उजुरी माथि अनुसन्धान र छानबिन भइरहेको आयोगका उपसचिव भूमिनन्द खनालले बताएका छन् ।

उपसचिव खनाल र शाखा अधिकृत चन्द्रकान्त बस्नेतले अन्तर्क्रियाको सहजीकरण गरेका हुन् । अख्तियार प्रति अविश्वास र शंका पैदा हुन नदिनका लागि सबैले नैतिकता र इमान्दारीतामा काम गर्नु पर्ने सुझाव आयोग कञ्चनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको छ । सुदूरपश्चिमको अवस्था हेर्दा सबैभन्दा कम बाजुरामा उजुरी छन् भने सबैभन्दा बढी कैलालीमा छन् । सुदूरपश्चिमका नौ वटा जिल्लामा मात्र ८३३ वटा उजुरी फर्स्योट  हुन बाँकी रहेको अवस्था छ । बाजुरामा उजुरी कम देखिए पनि भ्रष्टाचार र अख्तियार दुरुपयोग भएका घटना धेरै हुन सक्ने आयोगको ठहर छ ।

सबै घटनाहरू उजुरीसम्म पुग्दैनन्, बीचमै मिलेमतो हुन्छन्, सिडिओ हुँदा र अख्तियार कार्यालय प्रमुख हुँदा यस्ता उदाहरण आफूले भेटेको र भोगेको आयोग कञ्चनपुर कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङको छ ।

'घटना लुकाउन स्वयम व्यक्तिको मात्र नभई प्रहरी, प्रशासन, पत्रकार, व्यापारी सबैको सेटिङ हुने उदाहरण भेटिएकोले त्यसको पहिलो उपचार प्रत्येक नागरिक नैतिक, इमानदार र चरित्रवाला हुनु पर्ने हुन्छ, यदि व्यक्ति इमानदार नभए भ्रष्टाचार रोकिदैन्,' कुरुम्वाङले भने । 

बडीमालिकामा नगर उपप्रमुख नन्दा थापाले भ्रष्टाचार खाना खाने होटल देखि नै सुरु हुने भएकोले सबैले जिम्मेवार र सचेत हुनु पर्ने सुझाव दिएकी छन् । देश भरी २०७७।७८ मा २२ हजार ६ सय २५ उजुरी परेका छन् । ती मध्ये अनुसन्धान पछि मुद्दा दर्ता प्रक्रियामा १ सय १४ वटा मात्र पुगेका छन् ।

 कार्यालय प्रमुख देखि जनप्रतिनिधि सेवा लिने दिने सबै निकाय जिम्मेवार र सचेत भए भ्रष्टाचारको समस्या नै नहुने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् ।

बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरिने पर्ने धारणा राखेका छन् । समाजमा नैतिक र इमानदार मान्छे भेटिनै मुस्किल भएकोमा चिन्ता व्यक्त गरेका छन् । बडीमालिका नगरपालिकामा आयोजित कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख, जनप्रतिनिधि, पत्रकार सहित नागरिक समाजका अगुवाहरू सहभागी थिए । सहभागीले जनताको विश्वास बढाउन काम गर्न र सोही अनुरूपको कार्यसम्पादन गर्न सुझाव दिएका छन् ।