close

भैरवी गाउँपालिकाको विवाद समाधान : योजनाको भुक्तानी दिन थालियो

भैरवी गाउँपालिकाको विवाद समाधान : योजनाको भुक्तानी दिन थालियो

Trulli
ADVERTISEMENT

दैलेख । भैरवी गाउँपालिकाका गाउँपालिका अध्यक्ष  रिताकुमारी शाही र प्रमुख कार्यकारी अधिकृत पूर्णबहादुर विकबीचको विवादका कारण रोकिएको योजनाको भुक्तानी तत्कालका लागि समाधान भएको छ । 

गाउँपालिका अध्यक्ष रिताकुमारी शाहीले आफ्नो मालिका कन्ट्रक्सनलाई भुक्तानी नदिएको भन्दै पालिकाका कर्मचारीलाई उक्त भुक्तानी नभएसम्मका लागि कुनै पनि भुक्तानी नदिन दबाब दिएपछि सोमबार भुक्तानी रोकिएको थियो । 

त्यसपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको आदेश अनुसार भन्दै बिदा स्वीकृतिका लागि भन्दै संघीय मामिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दैलेखलाई बोधार्थ राखेर आइतबार बिदा मागे । त्यसपछि दुईजना बीचको विवाद छताछुल्ल भएको थियो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा उनका मालिका कन्स्ट्रक्सनका बखतबहादुर शाही ८८ लाखमा ५४ दिनमा पालिका भवन निर्माण गर्ने भन्दै पालिकासँग सम्झौता गरेका थिए । पालिका कार्यालयको प्रिफ्याव भवनको लागि मालिकाले ठेक्का पाएको थियो । 

तर, उनले हालसम्म पनि भवन निर्माण पुरा गर्न सकेका छैनन् । बारम्बार म्याद थप गर्दा पनि भवन सम्पन्न नहुँदै बाँकी ७३ लाख रुपैंया भुक्तानी दिन अध्यक्ष शाहीले दवाव दिएकी थिइन् । १५ लाख भने भुक्तानी भइसकेको छ ।  बखतबहादुर शाही गाउँपालिका अध्यक्ष रिताका श्रीमान् हुन् । 

यसबारे पालिका खबरले गाउँपालिका अध्यक्षसँग कुरा गर्न खोज्दा मोबाइल अफ छ । गाउँपालिका उपाध्यक्ष देवी भण्डारीका अनुसार हिजो एक दिन भुक्तानी रोकिए पनि विवाद समाधान भई आजदेखि भुक्तानीको काम भइरहेको छ । 

'मालिका कन्ट्रक्सनको भुक्तानी यथावत राखेर अरु सबै योजनाको भुक्तानी दिने सहमति भएको छ, सोमबारमात्र भुक्तानी रोकिएको हो, आजदेखि सबै काम भइरहेको छ । ' प्रमुख प्रभासकीय अधिकृत विकले भने । उनका अनुसार एउटा योजनाका कारण सबै कामलाई लथालिङ्ग बनाउन नहुने भएकाले विवादित विषयलाई यथावत राखेर अरू काम सुचारू गरिएको हो ।