close

दिवंगतलाई स्वर्ग पुर्‍याउने सापारु

दिवंगतलाई स्वर्ग पुर्‍याउने सापारु

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका नेवार समुदायले शुक्रबार सापारु (गाईजात्रा) मनाएका छन् । मृतक व्यक्तिको सम्झनामा उपत्यकाभित्रका नेवारसमुदायले सापारु मनाउने गरिन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदा दिन गाईजात्रा मनाइने गरिन्छ । नेवार समुदायमा वर्षभरि दिवंगत भएका व्यक्तिका आफन्तले सोको प्रतिकात्मक रुपमा सा अर्थात् गाई बनाएर नगर परिक्रमा गराइन्छ । यसो गरे मृतक व्यक्तिको लागि स्वर्गमा ढोका खोलिने मान्यता स्थानीयसँग छ । 

गाईजात्रामा मृतकको प्रतिकात्मक रुपमा बाँसको प्रयोगबाट ताहासा, गाई, ताहामचा वा माटाका साँ बनाएर नगर परिक्रमा गराइन्छ । यसो गरेमा मृतक व्यक्ति गाईको पुच्छर समातेर जाने मान्यतन नेवार समुदायमा छ । 

यसदिन ‘सायात’ गर्ने प्रचलन रहेको संस्कृतविद् ओम धौभडेल बताउँछन् । उनका अनुसार ‘सा’ भनेको गाई र ‘यात’ भनेको जात्रा हो । तर साले गाईभन्दा पनि बसाहाको आभाष हुने संस्कृतविद् धौभडेलको जिकिर छ। 

उनका अनुसार तत्कालीन नेवार समुदाय रहेका हरेक बस्तीले आफ्नो परम्परा अनुसार प्रतिकात्मक बनाएर नगरपरिक्रमा गरिन्छ । 

नेवारसमुदायमा मृत्युसंस्कार मध्ये गाईजात्रा पनि एक रहेको उनले बताए । उनका अनुसार अरु संस्कारमा शोक हुने भएपनि गाईजात्रामा हास्यव्यंग्य हुने उनको भनाइ छ । तर अरू क्षेत्रको तुलनामा भक्तपुर जिल्लामा फरक शैलीमा गाईजात्रा मनाइने उनले बताए । 

किन फरक छ भक्तपुरको गाईजात्रा ?

संस्कृत ओम धौभडेलका अनुसार भक्तपुरको गाईजात्राको आकर्षण भनेको अग्लो ताहासा हो । चार वटा लामा बाँसको प्रयोग गरिन्छ । अनि त्यसलाई वरिपरि नेवारी कपडाले बेरिन्छ । 

ताहासाले केही व्यक्तिले आफ्नो काँधमा राखेर बोक्छ र अगाडिपछाडि लामो कपडाले समातेर नगर परिक्रमा गरिन्छ ।  ताहासाका अगाडि दिवगंत व्यक्तिका आफन्त धूप बालेर जाने गर्दछन् ।

तर, अन्य काठमाडौ र ललिपुरमा बासको ताहासाँ नबनाइने स्थानीय लक्ष्मण मारिखुले बताए । विगतका वर्षमा बसन्तपुरमा गाईजात्रा हेर्न गरेको स्मरण गर्दै उनले पालिका खबरसँग भने, ‘बसन्तपुरमा मान्छेले मुकुट लगाएको हुन्छ । कुनैले मृतक व्यक्तिको फोटो बोकेर नगर परिक्रमा गराइन्छ ।’

उनका अनुसार केहीले साना नानीहरूलाई श्रृंगारेर विभिन्न रुप दिएर नगर घुमाउने परम्परा छ । तर भक्तपुरका गाईजात्रा त्यसको तुलनामा फरक रहेको दावी उनले गरे । 

भक्तपुरको गाईजात्रामा धिमे, धाँ, भुस्या, खिंलगायतको बाजागाजा बजाइने स्थानीय राम मारिखुले बताए । ‘यहाँ बाजागाजा हुन्छ । बाजाको तालमा लठ्ठि जुधाएर नाच्छन्’, उनले भने, ‘तर उपत्यकाको अन्य जिल्लामा त्यस्तो नाच र बाजागाजा बजाएको हुन्न । मरेका व्यक्तिको सम्झनामा नगर घुमाउने गरिन्छ ।’ 

संस्कृतविद् धौभडेलले भक्तपुरमा जनैपूर्णिमा दिनबाट गाईजात्रा सुरु हुने बताए । जनैपूर्णिमाको साँझ तलेजुबाट घेन्ताङघिसी नाच सुरु गरेसँगै भक्तपुरमा गाईजात्रा सुरु हुन्छ । सो जात्रा आठ दिन नौ रातसम्म चल्छ । भक्तपुरको गाईजात्रा जनैपूर्णिमामा सुरु भएर कृष्णअष्टमीमा सकिने उनले बताए । 

गाईजात्राको दिन भैरव मन्दिर र अजिमाको सा –गाई)परिक्रमा गरेपछि अरु गाई परिक्रमा गराउन नहुने मान्यता रहेको स्थानीयले बताए । स्थानीय हरिबहादुर कोजुका अनुसार भक्तपुरमा विहानदेखि नै ताहासा बनाएर नगरपरिक्रमा गरान्छ । 

‘साँझ सबैको ताहासा परिक्रमा भएपछि लैको लाकोलाछेँबाट भैरव र अजिमाको गाई बनाएर ल्याउँछ’,  उनले भने, ‘सोआएपनि अरुले गाई घुमाउन नहुने मान्यता छ ।’ 

उनका अनुसार भैरब पराल र अजिमा धागोको प्रयोग गरी बनाइन्छ । भैरबनाथ जात्रा सहयोग समिति र गुठीले सो ल्याउने गरेको उनले बताए । भैरवको गाई ल्याउँदा सो टोलमा दिवगंत भएका सबै व्यक्तिको ताहासा एकैपटक ल्याइने उनको भनाइ छ । 

‘अरुको ताहासा फरकफकर ल्याउँछ । तर समितिको त्यस्तो हुन्न’, उनले भने । उनका अनुसार भैरव र अजिमालाई दत्तात्रय, दरबार स्क्वायर र पाँचतले मन्दिरमा तीनपटक परिक्रमा गराइने गरिन्छ । 

अरु ताहासालाई एकपटक मात्रै परिक्रमा गराइने गरिन्छ । तर भैरव र अजिमालाई शक्तिशाली पीठमा तीन पटक परिक्रमा गराउनु पर्छ ।

समयसँगै परिवर्तन हुँदै जात्रा

गाईजात्रा परम्परागत भएपनि ताहासा बनावटमा फरक भएको जानकार बताउँछन् । ‘पहिले ताहासा अग्लो हुन्थ्यो । अहिले त ससाना भए’, स्थानीय श्यामकृष्ण प्रजापतिले भने, ‘पहिलेका ताहासा अग्लो भएर तारहरूले छेक्थ्यो ।’ अहिले त ताहासा सानो भएकोले तारहरूले नछेक्नुका साथै बोक्न पनि सजिलो हुने उनले बताए ।

उनले ताहासा बोक्ने नहुनेले बाइकमा राखेर पनि परिक्रमा गराउन थालेको बताए । ‘पहिले त बोक्नै पर्छ भन्ने मान्यता थियो । अहिले त त्यस्तो छैन’, उनले भने ।

अधिकांश गाईमा बाजागाजासहित नाच हुने भएपनि आजभोली केहीले मात्रै नाच राखेर ल्याइने उनले बताए । ‘नाच ल्याउँदा भोज पनि बोकेर ल्याउनु पर्छ । नाच राख्दा नगरपरिक्रमा गराउन धेरै समय लाग्छ । आएका सबैलाई दुई पटक भोज खुवाउनु पर्छ,’ उनले भने, ‘तर अहिले केहीले मात्रै नाच राखेको छ ।’ 

खर्चिलो र झन्झटिलो हुने भएकोले आजभोली कमले मात्रै नाच राखेको हुन सक्ने आशंका उनले व्यक्त गरे । आजभोलि आफ्नो क्षमताअनुसार मात्रै ताहासा घुमाउने गरेको अनुभव उनले साटे । 

भक्तपुरमा प्रतिस्पर्धा र पुरस्कार

गाईजात्राको अवसरमा हुने प्रदर्शनी, नाच, र नाटकहरूबीच भक्तपुर नगरपालिकाले प्रतिस्पर्धा गराउँदै आएको छ । पालिकाले नगरको संस्कृती र परम्पराको जर्गेना गर्ने उदेश्यले गाईजात्रामा प्रतिष्पर्धासँगै पुरस्कारको व्यवस्था समेत गराउँदै आएको छ । 

प्रतिष्पर्धाका लागि नगरपालिकाले नगरको दरबार स्क्यार, टौमढी, दत्तात्रयमा मूल्यांकन समितिको व्यवस्था समेत गरेको छ । मूल्यांकन समितिले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएका ताहासा समूहको अनुगमन गर्ने गरिन्छ । 

ताहासा प्रर्दशनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई पालिकाले नगद पुरस्कारको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विभिन्न विधामा विजयी हुने नाच, नाटक र प्रहसनका लागि ३५ हजारदेखि ६ हजारसम्मको नगद पुरस्कारको व्यवस्था गरेको छ । 

प्रतिष्पर्धामा सहभागी हुनका लागि भक्तपुरको टोलटोलमा केही समयअघिदेखि नै प्रशिक्षण हुने गरेको स्थानीय बताउँछन् ।