close

यसरी मनाइँदै छ, चन्दनाथ नगरपालिकामा ५ दिनसम्म मनाइने जात्रा

यसरी मनाइँदै छ, चन्दनाथ नगरपालिकामा ५ दिनसम्म मनाइने जात्रा

Trulli
ADVERTISEMENT

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका कर्णाली प्रदेशमा मनाइने सबैभन्दा लामो जात्राको दोस्रो दिन आज रोपाइँ जात्रा मनाइएको छ । 

चन्दननाथ उपप्रमुख रामदेवी खड्काले लगातार पाँच दिनसम्म मनाइने जात्राको दोस्रो दिन रोपाइँ जात्रा गरेर मनाएको बताइन् । 

‘गाईजात्रा गरेर सुरु भएको यो जात्रा पाँचौँ दिनसम्म मनाइन्छ,’ उनले भनिन्, ‘गाईंजात्राबाट सुरु हुने जात्रा दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिन मिम्बा जात्रा, चौथो दिन पल्टन बाघ भालु जात्रा, र पाँचौँ दिन अर्थात् श्रीकृष्ण जन्माष्टमीका दिन कंश काटेपछि जात्रा सकिन्छ ।’

विगत दुई वर्ष कोभिड–१९ का कारण जात्रा नमनाइए पनि सामान्य प्रक्रिया पुर्‍याएर जात्रालाई निरन्तरता दिएको उनले बताइन् ।

जात्रा धर्म तथा संस्कृति र परम्परासँग जोडिएको बताउँदै उपप्रमुख खड्काले जात्रा बचाउन चित्रलाल श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

यस्तै, जात्रा चलाउनका लागि स्थानीय र युवा पंक्तिको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ छ । 

कुन दिन के–के गरेर जात्रा मनाइन्छ ?

पहिलो दिन

गाईं जात्राका दिन घरका कोही बितेको भए त्यस घरबाट जात्रा सुरु हुन्छ । यदि कसैको घरमा त्यस्तो नभएको भए मन्दिरबाट गाईजात्रा सुरु हुन्छ ।

 दोस्रो दिन 

दोस्रो दिन रोपाइँ पर्व मनाइन्छ । यस पर्वलाई किसानको पर्व पनि मानिन्छ । यस दिन केटा केटी बनेर (लोकल कालो काम्लो (घुम्टो) लोकल गहना लगाएर जात्रा निकालिन्छ । 

रोपीनीहरुको नक्कल गर्दै चन्दननाथ भैरव मन्दिर परिक्रमा गरेपछि बजारमा जात्रा सुरु हुन्छ ।

तेस्रो दिन 

जात्राको तेस्रो दिन मिम्बासा जात्रा मनाइन्छ । यस जात्रामा केटाहरू केटी बनी जात्रा देखाइन्छ । यस जात्रामा मुख्यतयाः कलाकारको सहभागिता हुन्छ । उपप्रमुख खड्काका अनुसार यस वर्षको मिम्वासा जात्रामा आनन्द अधिकारी र तोरनसिंह कठायतको नेतृत्वमा अघि बढेको छ । उनका अनुसार आइतबार यो  जात्रा मनाइन्छ । 

चौथो दिन 

जात्राको चौथो दिन पल्टन अर्थात् बाघ÷भालु मार्ने जात्राका रुपमा मनाइन्छ । 

यसमा मुख्यतः पल्टन (आर्मी, पुलिस)का ड्रेस लगाएर युवालाई सिगारिन्छ । साथमा बन्दुक पनि हुन्छ । उनीहरू पल्टन ड्रेसमा नाच्छन् पनि । उनीहरुले बाघ भालु मार्नुपर्ने हुन्छ । बाघ भालु मार्ने भएकैले यस दिनको जात्रालाई बाघ भालु जात्रा पनि भनिन्छ । 

यसपछि दुई दिन बाँकी रहन्छ ।  

पाँचौँ दिनको जात्रा 

श्रीकृष्ण जन्माष्टमीका दिनबाट सुरु हुन्छ पाँचौँ दिनको जात्रा । यस दिन दिनभरको व्रतपश्चात् राति श्री कृष्ण जन्माइन्छ । राधिकाहरू र कृष्ण बनाइन्छ । 

यस दिन लाखेहरू काटिन्छ । अन्त्यमा कंश काटिन्छ । कंश काटेपछि कंशको टाउको रगतसहित चन्दननाथ र भैरवनाथ मन्दिर ३ फन्का घुमाइन्छ । 

अन्त्यमा श्रीकृष्णको भजन कृतन गरी जात्रा समापन गरिन्छ । 

पाँच दिनसम्म मेला लाग्ने भएकाले स्थानीय सरकार सम्भावित जोखिमबाट बच्न सावधानी अपनाएको उपप्रमुख खड्काले बताइन् । उनका अनुसार मेलालाई जिल्लाबाट पनि निगरानी भइरहेको छ ।

(उपप्रमुख रामदेवी खड्कासँगको टेलिफोन संवादका आधारमा)