close

पशुपतिमा महादीपदान गर्ने भक्तजनको चहलपहल बढ्याे

पशुपतिमा महादीपदान गर्ने भक्तजनको चहलपहल बढ्याे

Trulli
ADVERTISEMENT

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । 

पशुपति क्षेत्रमा महादीपदान गर्ने बिहानैदेखि भक्तजनको चहलपहल बढेको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।

त्रयोदशीका बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ ।  
 
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । 

बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । 

सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार सतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने मान्यता छ ।

जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा आज बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । पशुपति क्षेत्रमा आज लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको उनको भनाई छ ।