close

बाग्मतीका सबै स्थानीय तहमा प्रहरीे गुनासो पेटिका

बाग्मतीका सबै स्थानीय तहमा प्रहरीे गुनासो पेटिका

Trulli
ADVERTISEMENT

मकवानपुर- प्रहरीसँगको गुनासो बुझ्न अब बाग्मती प्रदेशका सबै स्थानीय तहबाट गुनासो तथा सुझाव संकलन गरिने भएको छ ।


बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले सबै स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने तयारी गरेको हो ।


प्रहरी कार्यालय र प्रहरीबाट सम्पादन भएका काम–कारबाही बारे नागरिकबाट प्राप्तगुनासो र सुझाव संकलन गर्ने उद्देश्य प्रदेश प्रहरी कार्यालयको छ ।


गुनासो र सुझाव संकलनगर्दै स्थानीय तहसँग सहकार्य राख्ने, सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास बढाउने, प्रहरीका कमी–कमजोरी पहिचान गरी प्रहरी सेवा सुदृढ बनाउन, प्रहरी दायित्वको प्रभावकारी सम्पादनका लागि रणनीति तयार गर्न यस्तो योजना ल्याइएको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामाले बताए ।


नागरिकका गुनासोलाई उचित सम्बोधन गर्दै प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालन सम्बन्धी कार्ययोजना निर्माण गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए ।


स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिने योजना अन्तर्गत वडास्तरसम्म पेटिका स्थापना गरी नागरिकबाट प्रहरीसँग सम्बन्धित सूचना संकलन गरिने गिरीको भनाइ छ ।


उनका अनुसार स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म तीन चरणमा गरी गुनासो संकलन पेटिका राखिनेछ । पहिलो चरणमा महानगर, उपमहानगर र जिल्ला सदरमुकाममा रहेका गाउँपालिकामा, दोस्रो चरणमा सबै गाउँपालिका र तेस्रो चरणमा सबै वडा कार्यालयमा पेटिका राख्ने एसएसपी गिरीले बताए ।

 

१ असोजदेखि प्रदेशका २५ वटा नगरपालिका, १ वटा महानगर, १ वटा महानगर र १ वटा गाउँपालिका गरी २८ वटा स्थानीय तहमा गुनासो संकलन पेटिका राखिनेछ ।


प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम, सूचना अधिकृतको व्यवस्था, प्रविधिको प्रयोग लगायतका योजना ल्याएपनि वडास्तरबाटै गुनासो संकलन भने गरेको थिएन ।