close

बजेटमाथिको छलफल सुरु

बजेटमाथिको छलफल सुरु

Trulli
ADVERTISEMENT

गण्डकी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल सुरु भएको छ । बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएकोलगायतका विवादका कारण यसमाथिको छलफल प्रारम्भ हुन नसकेकोमा सहमति कायम गरी आजदेखि छलफल थालिएको हो ।

आजको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले यही असार १ गते सभासमक्ष प्रस्तुत गरिएको गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान सम्बन्धमा बोल्दै नीति कार्यक्रमलाई सम्बोधन हुने गरी बजेट वक्तव्य आएको बताए । समग्र गण्डकी प्रदेशको अवस्थालगायतलाई मध्यनजर राख्दै बजेट विनियोजन भएको उनले बताए ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य किरण गुरुङले लामो समयसम्म बजेटमाथिको छलफल बढ्न नसकेको भन्दै सरकारले संसद्लाई बन्धक बनाएको बताए । सरकारको आर्थिक स्रोत, केलाई प्राथमिकता दिने हो त्यसतर्फ ध्यान नदिइएको उनको भनाइ थियो । जनताको आवश्यकता र प्राथमिकताभन्दा पनि अन्यत्र ध्यान दिइएको बताउँदै उनले रातो पुस्तकसँग बजेटको कुनै साइनो नदेखिएको उल्लेख गरे । नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका कार्यक्रमलाई बजेटमा नराखिएको उनले बताए ।

अर्का सदस्य विष्णुप्रसाद लामिछानेले सरकारले जनताका पक्षमा आउनका लागि मिहिनेत गरेको बताए । जनतालाई प्रत्यक्ष मारपर्ने विषय भएमा त्यसतर्फ गम्भीर बन्नुपर्ने बताउँदै उनले जनतालाई मर्कापर्ने विषय भए सच्याउनुपर्ने बताए ।

अर्का सदस्य  खिमविक्रम शाहीले कार्यक्रम तथा बजेटमा कुनै पनि विषय पर्नुभन्दा पनि त्यसको कार्यान्वयन कसरी बढ्छ त्यो महत्त्वपूर्ण हुने बताए । आवश्यकताका आधारमा नगरी नहुने ठाउँ प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो ।

मायानाथ अधिकारीले प्राथमिकतामा पर्नुपर्ने विषयलाई छोडेर आफ्नै ढङ्गले योजना बनाइएको बताए । सत्तारूढ दलमा नै भागबन्डा नमिलेर झगडा हुनु, संसद् नचल्नु जस्ता विषय गैरजिम्मेवारपन भएको उनले बताए ।

प्रदेशसभा सदस्यहरू विकास लम्साल र धनञ्जय दवाडीले नीति तथा कार्यक्रम र बजेटमा मेल नखाएको बताउँदै गण्डकी प्रदेश सरकारले सङ्घीयतालाई बदनाम गराउन खोजेको उल्लेख गरे । यो बजेटबाट प्रदेशको समृद्धि हासिल गर्न नसकिने उनीहरूको भनाइ छ । प्रदेशसभाको अर्को बैठक यही असार २१ गते बिहान ११ बजे बस्नेछ ।