close

गन्तव्य मध्यपुर थिमि पुस्तक सार्वजनिक

गन्तव्य मध्यपुर थिमि पुस्तक सार्वजनिक

Trulli
ADVERTISEMENT

भक्तपुर– मध्यपुर थिमि नगरपालिकाको साँस्कृतिक, धार्मिक एवं जीवनशैली झल्कने गन्तव्य मध्यपुर थिमि पुस्तक सार्वजनिक गरिएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मध्यपुर थिमि दुई पोखरीमा उक्त पुस्तक सार्वजनिक गरे । 


भरतबन्धु थापाको लेखन तथा खिचिएका तस्बिर पुस्तकमा मध्यपुर थिमि नगरपालिकाभित्रका साँस्कृतिक, धार्मिक एवं जीवनशैली संग्रहित छन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र सँस्कृतिमा धनी रहेको बताए । 


नगरपालिका क्षेत्रभित्रका प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थल, कला र परम्परा झल्काउने तस्बिर समावेश रहेको यो संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवद्र्धन र विकासमा सहयोग पुग्ने विश्वास पूर्वप्रधानमन्त्री ओलीको छ ।

 

मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदालाई उजागर गरी देश–विदेशमा जानकारी दिन सके आन्तरिक र बाह्य पर्यटन विकासका माध्यमद्वारा सम्पदा संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनमार्फत समृद्ध नगर निर्माण गर्ने उद्देश्य रहेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।


उनले भने, ‘अहिले ४५ वर्षपछि परम्परागत लायकू भैलः, २३ वर्षपछि महाकाली नाच, १७ वर्षपछि सलाचा प्याखँ, १३ वर्षपछि म्हे्खः प्याखँ नाच, भैतीमैली प्याखँ (राजकुमार नाच) लगायतले निरन्तरता पाएका छन् । परम्परागत बाजागाजा, भजन, नित्य भजनलाई यथेष्ट सहयोग गरी अमूर्त कला संरक्षण गरिएको छ ।


मूर्तिकला संरक्षण क्रममा २३ वटा मन्दिर, ३७ वटा फल्चा, २५ वटा ढुंगेधारा, २० वटा इनार, १५ वटा पोखरी, ५ वटा विहार, ३ वटा लायकु दरबार पुनर्निर्माण गरिएको नगरप्रमुख श्रेष्ठले बताए । पुनर्निर्माण र निर्माण गरिएका संरचना लोप हुन लागेका, जीर्ण रहेका र भूकम्पले क्षति पुगेका सम्पदा हुन् ।


कार्यक्रममा लेखक थापाले पुस्तक तयार गर्न १० महिना लागेको बताए । उनले भने, ‘विगत दुई दशक बढी समयदेखि उपत्यका तथा भक्तपुर क्षेत्रमा पत्रकारितामा क्रियाशील रहँदा मध्यपुर क्षेत्रमा यति धेरै कला–सँस्कृति धरोहर रहेछन् । यसलाई समेटेर पुस्तकाकार दिइएको हो ।’ 


अब चाँडै सात वटै प्रदेशका परिचयसहित प्रदेशका प्रमुख पर्यटकीय धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरतालाई समावेश गरेर ३२४ पृष्ठको तस्बिरमा नेपालका पुस्तक सार्वजनिक गरिएको हो ।