close

देवघाट र शहिद लखनले गाँसे साइनो

देवघाट र शहिद लखनले गाँसे साइनो

Trulli
ADVERTISEMENT

तनहुँ - गण्डकी प्रदेशका २ गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका छन् । तनहुँको देवघाट गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका हुन् ।


देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा र शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले बिहीबार भगिनी सम्बन्धका गाँस्न सम्झौतापत्र आदनप्रदान गरे । दुवै स्थानीय तहले एकअर्काको धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा सघाउने सम्झौतापत्रमा उल्लेख छ ।  


यी दुवै स्थानीय तह गण्डकी प्रदेशमा धार्मिक पर्यटनको दृष्टिले अब्बल छन् । हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र तीर्थस्थल देवघाटधाम पर्छ । यस्तै,  शहिद लखनमा मनकामना मन्दिर छ, जहाँ केबलकार चढेर दैनिक हजाराै‌ भक्तजन पुग्छन् ।


दुई गाउँपालिकाबीच गाँसिएको सम्बन्धले धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचारप्रसार र प्रवद्र्धनमा सघाउ पुग्ने देवघाट गाउँपालिका अध्यक्ष थापा बताउँछन् । 

 

उनी भन्छन्, ‘पर्यटन  प्रवर्द्धनका लागि यो सम्बन्ध कोसेढुंगा सावित हुनेछ । तत्कालै पर्यटक आइहाल्छन् भन्ने होइन । यो सम्बन्धले निकट भविष्यमा मनकामना आउने पर्यटकलाई देवघाट पठाउन महत्वपूर्ण भूमिका खेल्छ ।’


गत वर्ष पुस अन्तिम साता देवघाटमा देशभरका धार्मिक स्थल रहेका स्थानीय तहबीच धार्मिक सम्मलेन भएको थियो । त्यतिबेलै स्थानीय तहबीच भगिनी सम्बन्ध गाँस्ने निर्णय गरियो । सोही निर्णयअनुसार अन्य स्थानीय तहसँग पनि भगिनी सम्बन्ध गाँस्ने देवघाटको योजना छ ।