close

अब आँबुखैरेनीका गाउँगाउँमै न्याय

अब आँबुखैरेनीका गाउँगाउँमै न्याय

Trulli
ADVERTISEMENT

तनहुँ - स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम स्थानीय तहका  उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिलाई २२ प्रकारका विवाद निरुपण गर्ने अधिकार दिइएको छ


न्याय माग्दै अदालतको ढोका ढक्ढकाउन पुग्ने सर्वसाधारण आफूलाई अन्याय भए स्थानीय तह केन्द्रको न्यायिक समितिमा गएर उजुरी दिन सक्छन् । समितिले मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दछ । 

 

तनहुँको आँबुखैरेनी गाउँपालिकाले अझ वडामै मेलमिलाप केन्द्र स्थापना गरी पालिकाको केन्द्रमा न्याय माग्दै धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ । गाउँपालिकाका ६ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिइन् । 

 

स्थानीय स्तरमा हुने विवाद वडामै मिलापत्र गराउनलाई मेलमिलाप केन्द्र स्थापना गरिएको उनले बताइन् । श्रेष्ठका अनुसार विवाद मिलाउन गाउँ-गाउँमा मेलमिलापकर्ता तयार पारिएको छ । 

 

‘३८ तालिमप्राप्त मेलमिलापकर्ता गाउँपालिकामा सूचीकृत छन् । उनीहरूले नै गाउँमा भएका विवाद मिलाउनेछन्’,  उनले भनिन्,  ‘गाउँमा समाधान हुन नसकेका विवाद बल्ल न्यायिक समितिमा आउँछन् ।’ 


गाउँपालिकाले ‘विवादको साटो, मेलमिलापको बाटो’ नारा अंगीकार गर्दै मेलमिलाप केन्द्र सञ्चालनसम्बन्धी कार्यविधिसमेत पारित गरेको पालिका अध्यक्ष गिरबहादुर थापाले बताए । 

 

स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यकाल सम्हालेपछि गठित न्यायिक समितिमा करिब ७० उजुरी परेका छन् ।


सहरी क्षेत्रमा साँध मिचिएको घरजग्गासम्बन्धी र ग्रामीण भेगबाट श्रीमान-श्रीमतीको सम्बन्धमा दरार आएर अलग हुन चाहेको विवाद बढी आउने गरेको न्यायिक समितिले जनाएको छ ।