close

बाढीले नहर बगाएपछि रणवाङ र दुखुमा सिँचाइ अवरुद्ध

बाढीले नहर बगाएपछि रणवाङ र दुखुमा सिँचाइ अवरुद्ध

Trulli
ADVERTISEMENT

म्याग्दी - बाढीले नहर बगाएपछि म्याग्दीको मंगला गाउँपालिका-२ रणवाङ र मालिका गाउँपालिका-६ दुखुमा सिँचाइ सुविधा अवरुद्ध भएको छ । 


जिल्लामै राम्रो धान खेती हुने रणवाङ र दुखुको खेतमा यसपालि सिँचाइ अभावका कारण उत्पादन प्रभावित हुने कृषकको चिन्ता छ । गत २५, २६ असार र ५, ६ साउनमा दुखुखोलामा आएको बाढीले दुखुतर्फका २ र रणवाङतर्फका २ नहर बगाएको थियो ।

 

४ ठाउँमा ३ सय ६३ मिटर पक्की नहर बाढीले बगाएको स्थानीय श्रीराम पौडेलले बताए । नहरको बाँध भएको ठाउँमा कटान गरेर खोलाको सतह गहिरिएको उनले जानकारी दिए । रणवाङ क्षेत्रको ५५ हेक्टर खेतमा सिँचाइको समस्या भएको पौडेलले बताए ।

 

‘पसाउने बेलाको धान पानी नभएर मुसाले काटेर नष्ट गर्न थालेको छ । पसाउने बेलामा पानी नहुँदा दाना राम्रो नलाग्ने र उत्पादनमा असर पर्ने देखिएको छ । अस्थायी पाइप जडान गरेर पानी आपूर्ति गराउन पहल गरे पनि पर्याप्त पानी ल्याउन सकिएन’, पौडेलले भने ।

 

स्थानीयले नहर मर्मत र पाइप जडान गर्न श्रमदानसमेत गरेका छन् । रणवाङका १ सय १६ घरधुरीले १०÷१० दिनका दरले श्रमदान गरेर नहरको बेस र पाइप राख्ने ठाउँ बनाएका छन् ।

 

दुखुखोलाको बाढीले बेनी-दरवाङ सडकअन्तर्गतको मोटरेबल पुल र २१ घरधुरी रहेका सहश्रधाराको बस्तस्लाई पनि जोखिममा पारेको छ । 


तत्कालै पाइपमार्फत पानी आपूर्ति गरी सिँचाइ व्यवस्था मिलाउने र पक्की नहर बनाउन गाउँपालिकाले  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा पहल गरिएको वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए ।