close

अढाई सय वर्षअघिको भग्नावशेष जगाउँदै उदयपुरगढी सरकार  

अढाई सय वर्षअघिको भग्नावशेष जगाउँदै उदयपुरगढी सरकार  

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीलाई पुनर्जीवन दिन पहल सुरु भएको छ । पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेका थिए ।

 

राज्य कब्जा गरेपछि पृथ्वीनारायणले त्यहाँ युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै उदयपुरगढीलाई पुनर्जीवन दिन लागिएको हो । देशभरका १ सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक हो । उदयपुरगढी गाउँपालिकाले पर्यटक भित्र्याउने उद्देश्यले पुरानो गढीको पुनर्निर्माण थालेको हो ।

 

पालिकाले संघीय सरकारसँगको साझेदारीमा पुरानो गढी पुनर्निर्माण अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए ।  गाउँपालिका- ५ स्थित पुरानो गढी क्षेत्रको झन्डै अढाई सय वर्षअघिको भग्नावशेषलाई पुनर्जीवन दिने काम भइरहेको छ । त्यहाँको पुरानो गढी, तत्कालीन सेनाको बंकर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त भौतिक संरचनाको भग्नावशेषलाई पुनर्निर्माण भइरहेको छ ।

 

गाउँपालिका केन्द्र परिसरदेखि १ किलोमिटर उत्तर-पश्चिममा पर्ने सो क्षेत्रमा गत वर्ष प्राप्त संघीय बजेटबाट गाउँपालिकाको साझेदारीमा पुनर्निर्माण सुरु गरिएको अधिकृत सुवेदीले बताए ।

 

स्थानीय बोधकुमार घिमिरेको अध्यक्षतामा गठित स्थानीय पर्यटन प्रवर्द्धन समितिमार्फत सञ्चालित योजनामा संघीय सरकार, पर्यटन मन्त्रालयबाट प्राप्त ५० लाख र गाउँपालिकाबाट विनियोजित २३ लाख ५० हजार गरी ७३ लाख ५० हजार रुपैयाँमा पहिलो चरणको काम सम्पन्न गरिएको छ ।

 

बजेटबाट तत्कालीन गढीको जग, बंकर र गढी क्षेत्रमा कम्पाउन्ड घेराबार निर्माण भएको गढी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार ऐतिहासिक तथ्य र प्रमाण आधारको अध्ययन गरी पहिलेकै स्वरुपजस्तो बनाउने प्रयास समितिले गर्नेछ । ‘गढीको इतिहास स्मरण गर्ने संरचना पुनर्निर्माण गर्न सके इतिहासलाई पुनर्जीवन दिन सकिने हुँदा पुरानै स्वरुपमा पुनर्निर्माण गर्ने योजना बनाइएको हो’, घिमिरेले भने ।

 

गाउँपालिकालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउँदै पर्यटन प्रवर्द्धनमा जोड दिन ऐतिहासिक गढीको पुनर्संरचना भइरहेको उनको भनाइ छ । गाउँपालिका गठनपछि ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र स्थानीय अगुवाको पहलमा पुराना भग्नावशेष पहिल्याउँदै गढीको ऐतिहासिक संरचनाको पुनरुत्थान गर्न लागिएको हो ।

 

पुनर्निर्माणको क्रममा ५ सय मिटर व्यासको बाहिरी कम्पाउन्ड घेराबार निर्माण भइसकेको छ भने त्यसको सुरक्षा र आकर्षणका लागि १ सय ३० मिटर लम्बाइको ६ फिट अग्लो बाहिरी गारो लगाई सकिएको उपभोक्ता समितिका अध्यक्ष घिमिरेले बताए । कम्पाउन्डभित्र गढी, कोतखाना, इनार र बगैंचा बनाइने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख छ ।  

 

पृथ्वीनारायण शाहले राज्य एकीकरण कालमा भोजपुरको हतुवागढी, सुनसरी धरानको विजयपुरगढीलाई परास्त गर्दै उदयपुरको चौदण्डीगढी राज्यको सहायक राज्य रहेको उदयपुरगढी कब्जा गरेको इतिहास छ । 

 

राज्य कब्जा गरेपछि चौदण्डीगढीलाई मुख्य युद्धपोत र उदयपुरगढीलाई सहायक युद्धपोत बनाएर पूर्वका ससाना किरात राज्यमाथि विजय प्राप्त गरेको इतिहास रहेको घिमिरेले सुनाए । उनका अनुसार तत्कालीन भुरे-टाकुरे राजा उदयचन्द्र सेनले राज्य गरेको दरबार क्षेत्र नै हालको उदयपुरगढी हो ।


गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर उदयपुरगढी ऐतिहासिक, पुरातात्विक र उबेला सामरिक महत्वको भएकाले त्यसको पुनर्संरचनामा जुटिएको बताउँछन् । जिल्लाको मध्य भाग, वरिपरि बेंसी अनि फाँट र बीचमा दम्स्याइलो डाँडो रहेको उदयपुरगढी समुद्री सतहदेखि १ हजार १ सय मिटर उचाइमा अवस्थित छ । 


‘चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृश्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र शितल हुने हुँदा पर्यटकको रोजाइमा पर्दै आएको छ’, अध्यक्ष मगरले भने । २०२८ मा गाईघाट सदरमुकाम सार्नुअघि जिल्लाको प्रशासनिक र राजनीतिक केन्द्र रहेको उदयपुरगढीमा पञ्चावती मन्दिर, १ वर्षअघिका पुराना वरपीपलका चौतारी, विभिन्न संरचना अद्यपि छन् । 

 

सदरमुकाम सरेपछि उक्त स्थानका बासिन्दाको बसाइँ सर्ने क्रमसँगै बिरानो बन्दै गएको गढी क्षेत्रलाई हाल सामान्य बस्तीबाहेक जंगल र वनस्पतिले ढाक्दै गएको छ ।