close

पोखरालाई ७ दिदी–बहिनीको निरन्तर कोशेली

मास्कदेखि दमकलसम्मका उपहार

पोखरालाई ७ दिदी–बहिनीको निरन्तर कोशेली

मास्कदेखि दमकलसम्मका उपहार

Trulli
ADVERTISEMENT

कास्की-  दुःख पर्दा ढाक्ने आफ्नैले हो । यो उक्ति पोखरा महानगरका हकमा सान्दर्भिक भएको छ । पोखरा महानगरले चीनका ७ सहरसहित जापान, दक्षिण कोरिया र युरोपियन सहरसँग भगिनी साइनो गाँसेको छ ।


अहिलेको कोरोना महामारीमा भगिनी सम्बन्ध कायम भएका सहरहरूले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आइतबार चीनको कुन्मिन सहरले ३० लाखभन्दा बढीको मास्क र थर्मोमिटर सहयोग गरेको छ । २०७२ मा पोखरासँग साइनो कायम भएको कुन्मिनले २० हजार थान सर्जिकल मास्क, २ हजार एन ९५ मास्क, ७ सय ५० थान पिपीई र ४ सय ५० थान थर्मोमिटर सहयोग पठाएको हो ।


सहयोग सामग्री नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले नगरप्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरे । नगरप्रमुख जिसीले सहयोगी कुन्मिनलाई पैंचो तिर्ने विश्वास दिलाए ।

 

‘दुःखमा आफन्तले सहयोग गर्नुपर्छ । अहिले हामीलाई दुःख छ । नातेदारले सहयोग गरेका छन्’, उनले भने, ‘भोलि उनीहरूलाई दुःख पर्दा हामी सघाउँछौं । यही हो भगिनी साइनोको लाभ ।’


भगिनी साइनो र मितेरी सम्बन्ध गाँसिएका कतिपय सहरबीच दोहोरो संवाद पनि छैन । तर पोखराका नातेदार सहरहरूबीच निरन्तर सहयोग आदानप्रदान भइरहेको छ ।


कुन्मिनले यसअघि ५ हजार थान सर्जिकल मास्क र १ हजार थान एन ९५ मास्क पठाएको थियो । भगिनी सम्बन्ध जोडेका लिञ्जी, ग्वान्जाओ, गान्जी, यिविन,लगायत सहरले पनि सहयोग गरेका महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध समन्वयकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।


यिविनले ७ हजार डलर, छुचाओले ११ हजार, लिन्जीले २५ हजार, गोन्जाओबाट २७ हजार र कुन्मिङबाट पहिले नै ९ हजार डलर बराबरको स्वास्थ्य सामग्री पोखरा आएको हो ।

 

महानगरले चीनमा कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङलगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ ।


त्यसबाहेक जापानको कोमागाने टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग पनि भगिनी र मितेरी सम्बन्ध छ । कोरोनाअघि कुनमिनले २ वटा अत्याधुनिक दमकल दिएको छ भने भूकम्पपछि कम्प्युटर र सोलार सहयोग गरेको थियो । सांस्कृतिक, सामाजिक र आर्थिक पक्षका विविधता साटफेर गर्न भगिनी सम्बन्ध गाँसिएका हुन्छन् ।