close

तनहुँको बेलचौतारामा नोलाइट काउन्टरः २ जिल्लाका ७ स्थानीय तहलाई सहज

तनहुँको बेलचौतारामा नोलाइट काउन्टरः २ जिल्लाका ७ स्थानीय तहलाई सहज

Trulli
ADVERTISEMENT

तनहुँ–  तनहुँ र नवलपुर जिल्लाका उपभोक्तालाई सुविधा दिने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रले खैरेनीटार सबस्टेसनमा नोलाइट तथा  महसुल काउन्टर सञ्चालनमा ल्याएको छ । 

 

बेलचौतारास्थित खैरेनीटार सबस्टेसनसँगै निर्माण गरिएको भवनबाट सेवा सुरु भएपछि सेवाग्राहीलाई कास्कीको लेखनाथमा रहेको वितरण केन्द्रमा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

 

तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद, म्याग्दे गाउँपालिका, ऋषिङ,  घिरिङ र नवलपुरको बौदीकाली एवं  बुलिङटार गाउँपालिकाका झन्डै २५ हजार उपभोक्ताले यहाँबाट सेवा लिनेछन् ।

 

वितरण केन्द्रले उपभोक्तालाई पायक पर्ने विभिन्न स्थानमा महसुल काउन्टर सञ्चालन गरे पनि नयाँ ग्राहकले मिटरबक्स लिन, मर्मतसम्भारको माग तथा उजुरी र गुनासो लिएर लेखनाथै जानुपर्ने बाध्यता थियो ।

 

विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी लेखनाथ वितरण केन्द्रले दिने सबै सेवा उपभोक्तालाई उपलब्ध गराइने बताउँछन्  । ‘हाल महसुल काउन्टर र नो लाइटको मात्र सेवा प्रवाह भइरहेको छ । नयाँ ग्राहक सेवा, मर्मतसम्भार, सिकायतको सेवा पनि थप्छौं’, उनले भने ।  

 

गाँस, बास, कपाससँगै बिजुलीबत्ती पनि आधारभूत आवश्यकतामा पर्न थालेकाले ग्राहकसँगको सहकार्यमा सेवा विस्तार र थप गर्दै लैजाने तिवारी बताउँछन् ।  पर्याप्त जग्गा भएकाले यो ठाउँमा प्रदेश स्तरको ट्रान्सफर्मर वर्कसप राख्ने योजना रहेको उनले सुनाए ।

 

प्राधिकरणले यहाँबाट सेवा दिन थालेपछि तनहुँ र नवलपुरका उपभोक्ताले पोखराको लेखनाथसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । ‘नयाँ मिटर लिनलाई दिन बिताएरै लेखनाथ जानु परेन । यतिबेला त झन् कोरोनाको डरले त्यहाँसम्म पुग्न पनि मुस्किल थियो’, खैरेनीटारका बुद्धिबहादुर थापाले भने, ‘अब धेरै सजिलो हुने भयो ।’

 

उक्त स्थानमा गत वर्षको पुसदेखि ३३ केभी प्रसारण लाइन क्षमताको सबस्टेसन सञ्चालनमा आएको छ । प्रसारण लाइनको क्षमता बढेपछि उद्योग, कलकारखाना सञ्चालनमा सघाउ पुगे पनि पूर्ण क्षमता नचल्दा बेलाबखत लाइन जाने समस्या रहेका कारण अझै पनि उपभोक्ताले सास्ती खेप्नु परेको छ ।

 

सबस्टेसन सञ्चालनमा आएपछि पनि निरन्तर बत्ती जाने समस्या भएकाले सुधार गर्न उपभोक्ताले सुझाव दिँदै आएका छन् ।