close

३ महिनापछि दरवाङ-मराङ-मल्कवाङ सडक मर्मत

३ महिनापछि दरवाङ-मराङ-मल्कवाङ सडक मर्मत

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरवाङ बजारदेखि गत असारको पहिरोबाट प्रभावित धवलागिरि गाउँपालिका-६ मराङ र ५ नम्बर वडा मल्कवाङ जोड्ने सडक ३ महिनापछि मर्मत भएको छ । 


२५ र २६ असारको वर्षाले दर्जनौं ठाउँमा बाढीपहिरोले सडक बगाएपछि दरवाङदेखि बिम हुँदै मराङ र मल्कवाङ जोड्ने सडक अवरुद्ध बनेको थियो । गाउँपालिकाको सहयोगमा मल्कवाङदेखि आरबाङ हुँदै बेंसी र मालिकाको लुरवाङ, अर्गला हुँदै बेंसीसम्म सडक मर्मत गरिएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

 

‘पहिरो पन्छाउने, ग्याबिन पर्खाल लगाउने र कतिपय ठाउँमा नयाँ ट्रयाक खोलेर बेंसी हुँदै मल्कवाङसम्म गाडी चल्न सक्ने गरी सडक मर्मत सकिएको छ’, उनले भने, ‘बेंसीदेखि कुम्री, ठूलोगाउँ, राम्चे जोड्ने सडक मर्मत बाँकी छ ।’

 

पहिरोलगत्तै सुरु गरिएको सडक मर्मतमा करिब साढे २ महिना लागेको हो । दरवाङदेखि लुरवाङ हुँदै मालिका र लुरवाङ अगाडि धवलागिरिले मर्मत गरेका हुन् । लुरवाङ हुँदै मालिका-७ बिमको तल्लो गाउँ जोड्ने सडक भदौ अन्तिम साता नै मर्मत सकेर यातायात सञ्चालन भएको छ । 

 

३ महिनापछि मराङ र मल्कवाङमा सडक सञ्चालन भएको छ । कोरोना जोखिमका बीच एक्जाभेटरका साथै स्थानीय मजदुरलाई स्वास्थ्य सतर्कता अपनाएर सडक मर्मतमा परिचालन गरिएको उपभोक्ता समितिका अध्यक्ष अमर पुनले जानकारी दिए । सडक मर्मत भएपछि दैनिक उपभोग्य, निर्माण, राहत सामग्री ढुवानी गर्न तथा गाउँमा उत्पादन भएका कृषि उपज निकासी गर्न सहज हुने अपेक्षा उनको छ ।

 

 मालिका र धवलागिरि गाउँपालिकामा पहिरोले क्षति पुर्‍याएको सडक मर्मत गर्न ५०/५० लाख रुपैयाँ विनियोजन गरिएकामा पहिलो चरणमा ३०/३० लाख उपलब्ध गराइएको जिसस प्रमुख देवेन्द्र केसीले बताए ।


दरवाङदेखि धारापानी-ताकम हुँदै धवलागिरिको केन्द्र मुना जोड्ने सडक यसअघि नै मर्मत गरिएको थियो । पहिरोका कारण मराङमा १९ को मृत्यु, २ बेपत्ता, बिममा ८ को मृत्यु र १ बेपत्ता भएका थिए । 

 

धवलागिरिको वडा-६ मा २४, वडा-७ मा ४२ र ५ मा ४ घरमा क्षति पुगेको छ । विद्यालय, खानेपानी, सडक र सिँचाइ आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ । प्रारम्भिक अध्ययनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण र घरबास गुमाएकाको पुनस्र्थापनाका लागि २६ करोड आवश्यक पर्ने अध्यक्ष थमसरा पुनले जानकारी दिए । 

 

‘सडक, विद्युत्, खानेपानी, सामुदायिक भवन, निजी आवास, खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको पहिरोले २ वडाका धेरै घर स्थानान्तरण गर्नुपर्ने बनाएको छ’, उनले भने, ‘जोखिमको अध्ययनका लागि भूगर्भविद्को टोली, बजेट एवं योजनाका लागि प्रदेश र संघ सरकारसँग पहल गरेका छौं ।’