close

मादीमा धमाधम वडा भवन बन्दै

मादीमा धमाधम वडा भवन बन्दै

Trulli
ADVERTISEMENT

कास्की–  कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ मा वडा भवन निर्माण गरिएको छ । तारकाङमा बनाइएको कार्यालय भवन जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीले उद्घाटन गरे ।


समन्वय समितिको ६० र मादी गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन ठडिएको हो । मादीका वडा कार्यालय धमाधम निर्माण भइरहेका छन् ।


१२ वडा रहेको मादीमा ७ वडामा नयाँ भवन बनाउन थालिएको छ । ३ वडामा पहिले नै भवन छन् । बाँकी २ वडामा पनि यही वर्षमा भवन बनाइने गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिए । ५८ लाख ५३ हजार रुपैयाँमा ४ नम्बर वडा कार्यालय भवन निर्माण सकिएको हो । त्यसमध्ये ३५ लाख १२ हजार समन्वय समितिले दिएको छ भने २३ लाख ४१ हजार गाउँपालिकाको लगानी छ ।


१५ रोपनी क्षेत्रफलमा फैलिएको वडा कार्यालय निर्माणका लागि स्थानीय १८ दाताले निःशुल्क जग्गा उपलब्ध गराएको वडाध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए ।


भवन उद्घाटन अवसरमा समन्वय प्रमुख क्षेत्रीले कर्मचारीले जनताको सेवालाई प्राथमिकता दिनुपर्ने बताए । । ‘भवनले मात्रै सेवा राम्रो हुँदैन । कर्मचारीको भावना र मानसिकतासमेत बदलिनुपर्छ’, उनले भने, ‘जनतालाई केन्द्रमा राखेर सेवा गर्नुस् । विकास सम्भव छ ।’ कृषि र शिक्षाका लागि उर्वर ४ नम्बर वडालाई शैक्षिक केन्द्रको थलो बनाउन सबैले साथ दिनुपर्ने उनको भनाइ छ ।


मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले संघीयताकै कारण गाउँगाउँमा विकासको लहर छाएको दाबी गरे । ‘याङजाकोटमा गाउँपालिका भएकैले जनताका गुनासा र माग सुन्छ । सिंहदरबार नजिक हुँदा पाउने फाइदा यही हो’, उनले भने, ‘हाम्रो कार्यकाल सकिने बेलासम्म मादीको मुहार फेरिनेछ ।’


चालू वर्षभित्र गाउँपालिकाका सबै वडामा भवन बनाईसक्ने लक्ष्य रहेको प्रवक्ता गुरुङले बताए । ४ सहित ५, ८, ९ र १२ नम्बर वडाको भवन निर्माण भइसकेको छ भने ६, ७ र १० को कार्यालय निर्माणाधीन छन् । १, २ र ११ मा पहिलेकै भवन छ ।

 

३ नम्बर वडा भवनमा अहिले गाउँपालिका कार्यालय बसेको छ । वडा कार्यालय नजिकैको समाजघर भाडामा लिएर प्रशासनिक काम गरिएको छ । सबै भवनको एउटै स्टिमेट छ । ७० लाखको स्टिमेट बनाएर कार्यान्वयनमा लगिएको गाउँपालिकाले जनाएको छ ।