close

कटारी नगरप्रमुखलाई कोरोना, नगरका सबै सेवा बन्द

कटारी नगरप्रमुखलाई कोरोना, नगरका सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

उदयपुर- कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । नगरप्रमुख श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएपछि कटारी नगरपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । श्रेष्ठसहित प्रमुख प्रशासकीय अधिकृतसमेत गरी चार जनालाई संक्रमण भएपछि मंगलबारदेखि नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको हो ।


नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, इलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवाकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत व्यक्तिमा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले बताए ।


१ कात्तिकमा कटारीमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरप्रमुखसहित चार जनाको स्वाब संकलन गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालमा गरिएको परीक्षण रिपोर्टमा नगरप्रमुख श्रेष्ठसहित तीन जनाको पोजिटिभ आएको हो । अन्य एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।


संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसपछि १५ कात्तिकसम्मका लागि नगरपालिकका सम्पूर्ण सेवा बन्द गरिएको उपप्रमुख भीमकुमारी राउतले बताइन् । उनले कटारी क्षेत्रमा कोरोना संक्रमण बढदै गएकाले सबैलाई सतर्कता अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोधसमेत गरेकी छन् । संक्रमित सबै जना होम आइसोलेनमा बसेका छन् ।


उदयपुरमा जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर दर्नाल, बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापालाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरूको कोभिड- १९ अस्पताल बेल्टारको आइसोलेसनमा उपचार भइरहेको छ ।


जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले अहिलेसम्म दुई हजार १०२ जना महिलासहित आठ हजार ९९ जनाकोे पीसीआर परीक्षण गरिएको जनाएको छ । त्यसमध्ये ६३ जना महिलासहित २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


बाहिर स्वाब परीक्षण गरेको समेत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार उदयपुरमा ३०४ जना कोरोना संक्रमित रहेका र त्यसमध्ये २०४ जना निको भएर घर फर्किएको तथा १०० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । तीन जनाको मृत्यु भएको उल्लेख छ । उदयपुरमा अहिले होम क्वारेन्टाइनमा चार सय ७२ जना रहेका छन् ।