close

केन्द्र सरकारलाई गण्डकीको पनि चुनौतीः उपचार र टेष्ट नि:शुल्क, मन्त्रीका भत्ता कोरोना कोषमा

केन्द्र सरकारलाई गण्डकीको पनि चुनौतीः उपचार र टेष्ट नि:शुल्क, मन्त्रीका भत्ता कोरोना कोषमा

Trulli
ADVERTISEMENT

पोखरा– गण्डकी प्रदेशका सबै मन्त्रीले आफ्नो दशैंभत्ता कोरोना कोषमा दिने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दशैंभत्ता बापत पाउने सबै रकम कोरोना कोषमा दिने निर्णय गरेको हो ।


कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि रकम खर्च गर्ने गरी कोषमा दिइएको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । प्रदेशका मन्त्रीहरुले यसअघि पनि १ महिनाको तलव कोरोना कोषमा जम्मा गरेका थिए ।


‘संकटको बेला भत्ता लिएर हामी रमाउनु छैन । जनता दुखमा छन् । उनीहरुको उपचारमा खर्च होस्,’ उनले भने, ‘सरकारका कुनैपनि मन्त्रीले भत्ता नलिने र कोरोना कोषमा दिने निर्णय गरिएको छ ।’


नियमानुसार मुख्यमन्त्रीले ७० हजार र मन्त्रीहरुले ६० हजार भत्ता पाउँछन् । यो निर्णयले सबैको ४ लाख ३० हजार रुपैयाँ कोरोना कोषमा जम्मा हुने भएको छ । स्वकीय सचिवहरुले भने भत्ता लिनेछन् ।


उनका अनुसार गण्डकी प्रदेशले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय पनि भएको छ । ‘यसअघि जसरी उपचार भैरहेको छ । त्यही अनुसार उपचार हुन्छ । कसैले पनि शुल्क तिर्नुपर्दैन,’ उनले भने, ‘प्रदेशभित्रका सबै संक्रमितको उपचार र परीक्षणको जिम्मा प्रदेशले लिन्छ ।’


संघ सरकारले सबै नागरिकले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरिरहेका बेला गण्डकीले त्यसलाई काउण्टर दिने गरी निःशुल्क उपचारको निर्णय गरेको हो ।