close

भर्चुअल बैठक बोलाएपछि कांग्रेसले गर्‍यो कार्यपालिका बैठक बहिष्कार

भर्चुअल बैठक बोलाएपछि कांग्रेसले गर्‍यो कार्यपालिका बैठक बहिष्कार

Trulli
ADVERTISEMENT

कास्की- पोखरा महानगरपालिकामा दुई दर्जन हाराहारीमा कर्मचारीलाई कोरोना संक्रमण भएको छ । महानगरको दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ ।


प्रत्येक महिना पहिलो साता बस्ने कार्यपालिका बैठक यस पटक भर्चुअलमार्फत डाकियो । तर, कांग्रेसले भर्चुअल बैठकमा नआउने भन्दै बहिष्कार ग¥यो । आफूसँग सल्लाह नगरी बैठक डाकिएको र एजेण्डाहरू कमजोर पार्ने प्रयास गरिएको आरोप लगाउँदै कांग्रेस बैठकमा सहभागी भएन ।


नेपाली कांग्रेस कास्कीकै निर्देशनमा बैठक बहिष्कार गरिएको सचेतक रामराज लामिछाने बताउँछन् । ‘कोरोना कर्मचारीलाई लागेको हो, कार्यपालिका सदस्यलाई लागेको छैन । पहिले पनि सभागृहमा बैठक बसेका थियौँ । दूरी कायम गरेरै बैठक बस्न सकिन्छ’, उनले भने, ‘हामीसँग सल्लाह नगरी भर्चुअल बैठक भनेर बोलाइयो । पार्टीको निर्णयका आधारमा बहिष्कार ग¥यौँ ।’


महानगरले गरेको केही एजेण्डामा कांग्रेसले विमति राखेका कारण भर्चुअल बैठकबाट पास गराउन लागिएको उनको आरोप छ । ‘प्रज्ञाप्रतिष्ठानमा विरोध गर्नेवाला थियौँ । गण्डकी बहुप्राविधिक शिक्षालयको कुरा पनि चित्त बुझेको छैन’, उनले थपे, ‘यही कुरा थाहा पाएर विरोध सामसुम गर्ने प्रयत्न भयो ।’ मंगलबारको कार्यपालिका बैठकका कुनै पनि निर्णय कांग्रेसले नमान्ने उनको चेतावनी छ ।


यता, कांग्रेसबाटै विजयी भएका वडा नम्बर- ६ का अध्यक्ष भने भर्चुअल बैठकमा सहभागी भए । उनलाई पार्टीले स्पष्टीकरण सोधिसकेको छ । उनले फेवाताल मापदण्डका कारण समस्या परेपछि त्यही कुरा मात्र राख्न बैठकमा सहभागी भएको र अरू एजेण्डामा बहिष्कार गरेको बताए ।


बैठकमा गण्डकी बहुप्राविधिक शिक्षालयसम्बन्धी कार्यविधि पास भएको छ भने किसानको परिचय वितरणका लागि फारम भर्दा लाग्ने शुल्क तोकिएको छ । प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) स्वीकृत गर्ने कार्यविधि बनाइएको छ । बालमैत्री वडा घोषणा गर्ने र बालमन्च गठन गर्ने निर्देशिका तयार गरिएको छ ।


वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा बनेको विधेयक विधायन समितिमा पठाइएको छ । महानगरले नक्सापास तथा भवन निर्माण मापदण्ड संशोधन गरेको छ ।


कांग्रेसले बैठक बहिष्कार गरेको बारे महानगरलाई कुनै जानकारी नभएको नगरप्रमुख मानबहादुर जीसीले बताए । ‘बहिष्कार गर्नुपर्ने कारण के हो ? कमसेकम चित्त नबुझेको कुरा भन्नु त पर्छ नि ! मलाई आधिकारिक रूपमा केही थाहा छैन । तपाईंहरूले सोधेपछि थाहा पाएको हो’, उनले भने, ‘स्थानीय तहमा प्रतिपक्षी हुँदैन तर कांग्रेसले प्रतिपक्षी जस्तो व्यवहार गरिरहेको छ ।’


३३ वडा रहेको पोखरामा २२ वटा वडा नेपाल कम्युनिस्ट पार्टीले जितेको हो भने ११ वटा मात्र कांग्रेसले जितेको छ । मंगलबारका सबै एजेण्डा बहुमतले पास भएका छन् ।