close

बेनी कालीगण्डकीले नगरको सहमति पाएन

बेनी कालीगण्डकीले नगरको सहमति पाएन

Trulli
ADVERTISEMENT

म्याग्दी- प्रस्तावित बेनी कालीगण्डकी जलविद्युत आयोजना बनाउन बेनी नगरपालिकाले सहमति नदिने निर्णय गरेको छ ।


नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६१औँ कार्यपालिका बैठकले वातावरणीय, जैविक, धार्मिक र सांस्कृतिक क्षेत्रलाई असर पार्नेगरी जलविद्युत आयोजना बनाउन नदिने निर्णय गरेको हो ।


सरोकारवालाको सुझाव र भविष्यमा पर्न सक्ने वातावरणीय असरलाई आँकलन गरेर जलविद्युत आयोजना बनाउन नहुने निर्णय गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।


कालीगण्डकीलाई सुरुङमा हाल्दा बेनी र आसपासका क्षेत्रको तापक्रम र वातावरणीय प्रदूषण बढ्ने, धार्मिक तथा सांस्कृतिक हिसाबले असर पर्ने ठहर गर्दै जलविद्युत आयोजना बनाउन नदिने निर्णय गरेको हो ।


प्रस्ताव गरिएको ठाउँभन्दा माथि बाँध बनाउने विकल्प पनि उपयुक्त नदेखिएकाले आयोजना बनाउनै नहुने नगरपालिकाको अडान छ । विद्युत विकास विभागले ५०.५३ मेगावाट क्षमताको आयोजना निर्माणका लागि स्थानीय सरकारको सहमति मागेर पत्राचार गरेको थियो ।


बिभागको पत्राचारपछि नगरपालिकाले मंगलबार बेनीमा सरोकारवालाहरुसँग सुझाव मागेको थियो । गलेश्वर मन्दिरभन्दा १.२ किलोमिटर तल नगरको वडा- ८ र जलजला गाउँपालिका- २ को सिमानामा बाँध निर्माण गरी तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला- ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरी विभागले आयोजनाको प्रस्ताव गरेको छ ।


रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाइको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ । आठ अर्ब २० करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनको स्वीकृतिका लागि प्रभावित क्षेत्रका स्थानीय तहहरूबाट विभागले सहमति खोजेको थियो ।


यसैगरी भकिम्ली स्वास्थ्य चौकीको भवन निर्माणका लागि सम्बन्धित निकायमा प्रस्ताव पठाउने, बेनी-पात्लेखेत सडक स्तरोन्नतिका लागि महारानीथान-छाप-भराले-देउराली सडक मर्मत गरेर वैकल्पिक रूपमा संचालन गर्ने र कोरोना महामारी फैलिन नदिन टोल वस्तीमा स्वयंसेवक परिचालन गरेर निगरानी तथा सचेतनामूलक कार्यक्रम गर्ने निर्णय भएको छ ।