close

रौतामाई गाउँपालिकामा पहिलो पटक बल्यो बिजुली

रौतामाई गाउँपालिकामा पहिलो पटक बल्यो बिजुली

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टार केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको छ । टुकीबत्ती र सोलार प्रयोग गरेर कार्यालयबाट सेवा प्रवाह गरिरहेकामा केन्द्रीय बिजुली पुगेपछि काममा सहज हुनेछ ।

 

गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको दोस्रो वर्षलाई विद्युत् वर्षको रुपमा घोषणा गरी अभियान चलाएको थियो । गाउँपालिका कार्यालयमा विद्युत् पुगेसँगै समुदायमा पनि त्यसलाई विस्तार गरिनेछ ।

 

पालिकाले पहिलो वर्षलाई सडक वर्षको रुपमा घोषणा गरी पालिकाको केन्द्र र प्रत्येक वडाको केन्द्रमा सडक पु¥याउने लक्ष्य लिई काम गरेको पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

 

खड्का भन्छन्, ‘दोस्रो वर्षलाई विद्युत् वर्षको रुपमा घोषणा गरी गाउँभरि बिजुली विस्तारको काम गरेका छौं ।’ उदयपुर सिमेन्ट उद्योग जलजलेबाट उद्योगको खानी सुकौरा सिदालीसम्म लगिएको राष्ट्रिय प्रसारण लाइनबाट गाउँपालिकाले विद्युत विस्तार अभियान अध्यक्ष खड्काले बताए ।

 

विद्युत् विस्तारका लागि संघको करिब १ करोड ७५ लाख, प्रदेश सरकारको १ करोड र बाँकी गाउँपालिकाको गरी करिब ३ करोड ५० लाखमा गाउँपालिका केन्द्र भुट्टारसम्म बिजुली ल्याउन सफल भएको अध्यक्ष खड्काले बताए ।

 

अघिल्लो आर्थिक वर्ष विद्युत् वर्षको रुपमा घोषणा गरिए पनि सबै वडामा एक वर्षमै विद्युतीकरण हुन नसक्ने भएकाले चालू आर्थिक वर्ष पनि सो घोषणालाई निरन्तरता दिइने उनले जानकारी गराए ।


‘रौतामाई गाउँपालिकाको वडा–७, ८, ५, २, ६ मा विद्युतीकरण भइसकेको छ । बाँकी ३ वडामा पनि यसै आर्थिक वर्षभित्र विद्युतीकरण गर्ने योजनामा छौं’, उनले भने, ‘चालू आर्थिक वर्षभित्र कम्तीमा पनि ७० प्रतिशत नागरिकको घरमा विद्युत् पु¥याउने लक्ष्य छ । वडा–५ लाई उज्यालो वडा पनि घोषणा गरिसकिएको छ’ ।

 

उदयपुरको निर्वाचन क्षेत्र २ का संघीय  सांसद सुरेशकुमार राईले निर्वाचनका बेला आफूले गरेको वाचा पूरा गर्न गाउँपालिकालाई केन्द्रीय विद्युत् लाइनमा जोडिएको बताए । निर्वाचन क्षेत्रअन्तर्गत लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी, रौतामाई गाउँपालिकाका विभिन्न वडामा ३ अर्ब बराबरको खानेपानी योजना निर्माणाधीन रहेको राईले जानकारी दिए ।

 

‘प्रत्येक गाउँ–गाउँमा कालोपत्रे सडक पु¥याउने अभियानअन्तर्गत मदन भण्डारी लोकमार्गबाट रौतामाई प्रवेशद्वारको रुपमा रहेको रौतामाई गाउँपालिका–७ को राजाबासबाट यही आर्थिक वर्षदेखि सडक कालोपत्रे अभियान सुरु भएको छ’, राईले भने ।

 

स्थानीय, प्रदेश र संघीय सरकारबाट विकासका गतिविधि अगाडि बढिरहे पनि तीनै तहमा समन्वय नहुँदा अलमल देखिएको उनको बुझाइ छ ।

 

‘स्थानीय, प्रदेश र संघीय सरकारको बजेट एकै ठाउँबाट एकीकृत रुपमा लैजान सकेको भए देखिने गरी विकास हुने थियो । तर, प्रदेशले गरेको ठाउँमा स्थानीयले नगर्ने, स्थानीयले गरेकामा संघीयले नगर्ने हुँदा विकास निर्माणमा अलमल भएको हो’, सांसद राईले भने ।

 

प्रदेश सांसद नारायण बुर्जा मगरले निर्वाचन क्षेत्रको विकासका लागि पहल गरिरहेको बताए । ‘गाउँपालिका प्रवेश गर्ने केही खोलाहरूमा पुल नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था हटाउन  यसै आर्थिक वर्षमा पुल निर्माण गर्न संसदीय कोषको रकम विनियोजन गर्छौं’, बुर्जा मगरले भने ।

 

गाउँपालिका उपाध्यक्ष कुमारीज्यु ठकुरीले पालिका अहिले अँध्यारोबाट उज्यालो गाउँपालिकातर्फ लम्किरहेको दाबी गरिन् । ‘आर्थिक वर्ष २०७८ को अन्त्यसम्म सबै नागरिकको घर–घरमा विद्युत् पु¥याउने पालिकाको लक्ष्य छ’, ठकुरीले भनिन् ।

 

रौतामाईले पायो प्रहरी भ्यान र दमकल


उदयपुरको रौतामाई गाउँपालिकालाई विपद् व्यवस्थापनका निम्ति प्रहरी भ्यान र बारुदयन्त्र उपलब्ध गराइएको छ । प्रदेश सांसद विमल कार्कीको विशेष पहलमा प्रदेश १ सरकारले उदयपुरको रौतामाई गाउँपालिकालाई बारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो ।


पछिल्लो समय बढ्दै गएका आपराधिक गतिविधि र आगलागीका घटना नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्न विपद्बाट हुने क्षति न्यूनीकरणका लागि रौतामाईलाई प्रहरी भ्यान र दमकल हस्तान्तरण गरिएको हो ।

 

प्रदेश सरकारले उदयपुरको रौतामाईसँगै ११ जिल्लाका १÷१ स्थानीय तहलाई छनोट गरी बारुण यन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो । उदयपुरका ८ स्थानीय तहमध्ये सांसद कार्कीको पहलमा रौतामाईलाई छनोट गरी भ्यान र दमकल हस्तान्तरण गरिएको हो ।


मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि हस्तान्तरण गरिएको सो भ्यान र बारुण यन्त्र एकीकृत शान्ति–सुरक्षा, विपद् र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले हस्तान्तरण गरेको हो ।