close

कर्मचारीलाई कोरोना भएपछि बन्द छन् व्यास र म्याग्दे

कर्मचारीलाई कोरोना भएपछि बन्द छन् व्यास र म्याग्दे

Trulli
ADVERTISEMENT

तनहुँ- दशैँको बिदा सकिएलगत्तै बुधबारदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू खुलेर सेवा दिन थालेका छन् । कोरोना भाइरसको कहरले तनहुँका दुई स्थानीय तह भने बन्द छन् । बन्द रहेका व्यास नगरपालिका र म्याग्दे गाउँपालिका आइतबारदेखि खुल्ने जनाइएको छ ।


नगरपालिकाका कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि दशैँ बिदासँगै तीन दिन कार्यालय बन्द गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । नगरपालिकाका १४ वटै वडा कार्यालयसमेत बन्द छन् ।


‘अत्यावश्यकबाहेकका सबै सेवा बन्द छन्’, उनले भने, ‘आइतबारदेखि नियमित सेवा सुचारु हुन्छ ।’ सिग्देलका अनुसार हाल स्वास्थ्य र सरसफाइको सेवा मात्र प्रवाह भइरहेको छ ।


समाचर तयार पार्ने बेलासम्म व्यास नगरपालिकामा नगर प्रहरी, स्वास्थ्यकर्मी, इञ्जिनियरलगायत १३ जना कर्मचारीसहित २५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । तीमध्ये छ जना कर्मचारीसहित १४४ जना निको भइसके ।


यस्तै, म्याग्दे गाउँपालिकाको पनि आइतबारसम्म सेवा बन्द छ । गाउँपालिकाको कार्यालय र सातवटै वडा कार्यालय बन्द रहेको गाउँपालिकाका सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिए । गाउँपालिकामा कार्यरत एक जना सवारी चालकलाई कोरोना पोजिटिभ देखिएपछि जोखिम बढेकाले सेवा बन्द गरेको उनी बताउँछन् ।


बुधबार ती सवारी चालकको सम्पर्कमा आएका पाँच जनासहित ११ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्न पोखरा पठाइएको छ । म्याग्देमा हालसम्म ४१ जनालाई कोरोना  संक्रमणको पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ । तीमध्ये ३४ जना निको भइसकेका छन् ।


सवारी चालकको सम्पर्कमा आएका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना पुष्टि भएमा म्याग्देको सेवा बन्द अझ लामो समय हुने सम्भावना देखिन्छ ।