close

जलजलाको कोरोना संक्रमित उपचार खर्च सित्तैमा

जलजलाको कोरोना संक्रमित उपचार खर्च सित्तैमा

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दी सदरमुकाम बेनी बजारसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमितलाई उपचार खर्च सहयोग गर्ने भएको छ ।


समुदाय स्तरमा कोरोना परीक्षण गर्न ‘एक घर, एक पीसीआर’को अवधारणा अघि सारेको जलजलाको लामाखेतस्थित कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।


परीक्षणका क्रममा पहिचान भएर जटिल अवस्थाका अस्पताल भर्ना हुनेलाई उपचार खर्चबापत प्रतिव्यक्ति १० देखि २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको कार्यपालिकाका प्रजक्ता देवेन्द्र भण्डारीले जानकारी दिए ।


‘लक्षण नदेखिएका संक्रमितको होम आइसोलेनमा राखेर उपचार गर्ने र अस्पताल भर्ना हुनुपर्नेका लागि उपचार खर्च उपलब्ध गराउने निर्णय भएको छ’, उनले भने, ‘अस्पताल भर्ना हुन धरौटी राख्न, उपचार गर्न नसक्ने विपन्न र गरिब समुदायका नागरिकका लागि लक्षित गरेर यस्तो व्यवस्था मिलाएका हौँ ।’


गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले ‘एक घर, एक पीसीआर’ जाँचको अवधारणा अघि सार्दै पालिकावासीलाई सुविधा दिइएको बताए । आउँदो आइतबारदेखि बेनीबाट एक घर एक पीसीआर जाँच अभियान सुरु गरिने गाउँपालिकाले जनाएको छ ।


जलजलाका जनप्रतिनिधिले प्रदेश सरकारको कानुनअनुसार दशैँ भत्ताबापत पाउने सुविधाको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्य गरी ४७ जनाको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिने प्रवक्ता भण्डारीले जानकारी दिए ।


गाउँपालिका अध्यक्ष मल्लले आफू संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए । यसअघि गाउँपालिकाका करिब ५०० को पीसीआर परीक्षण गरिसकिएको छ ।


तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकता अनुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्य मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष मल्ल कोरोना जितेर दशैँअघि घर फर्किएका थिए ।