close

फोहोरबाट मोहर कमाउदै बेलका

४ करोडमा उद्योग स्थापना, छिमेकी पालिकाको फोहोर पनि किन्ने योजना

फोहोरबाट मोहर कमाउदै बेलका

४ करोडमा उद्योग स्थापना, छिमेकी पालिकाको फोहोर पनि किन्ने योजना

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको बेलका नगरपालिकाले फोहोर व्यवस्थापन तथा प्रांगारिक मल उत्पादन गर्ने उद्योगको स्थापना गरेको छ । बेलका नगरपालिका–९ को धौरी खैरेनीमा स्थापना गरिएको हो ।


स्थानीय तह र नेपाल सरकारको विशेष अनुदानमा  रिसोर्स एण्ड चेन्ज आरसिएम प्रालिको प्राविधिक सहयोगमा उद्योग स्थापना भएको हो । उद्योगको स्थापना पश्चात फोहोर व्यवस्थापन तथा प्रांगारिक मल उत्पादनको काम परीक्षण भइरहेको छ ।


बेलका नगरपालिकाको स्थानीय तहको निर्वाचनको घोषणा पत्रमा उल्लेख गरेको काम मध्ये फोहोर मैला ब्यवस्थापन पनि एक भएकाले त्यसलाई पुरा गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले बताए ।

 

सो उद्योगले प्रति घण्टा ५ टन फोहोर खपत गर्न सक्ने क्षमता रहेको बेलका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौगमले जानकारी दिए । स्थानीय तह र संघीय सरकारको विशेष अनुदानमा करिव ४ करोडको लागतमा उद्योग स्थापना भएको हो ।

 

बेलका नगरपालिका–९ धौरी खैरेनीमा करिब १० बिगाहा क्षेत्रमा स्थापना भएको उद्योगको पहिलो चरणमा १ करोड २८ लाख ९४ हजार ७ सय २७ रुपैयामा मेसिन औजार खरिद तथा जडान र ४६ लाख १ हजार १ सय ७८ रुपैया ८५ पैसा भौतिक संरचना निर्माण गरिएको छ ।

 

सो रकम अघिल्लो आर्थिक वर्षमा खर्च भई भुत्तानी भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गौतमको भनाइ छ । चालु आर्थिक वर्ष थप २ करोडको काम भइरहेको उनले जानकारी दिए ।

 

फोहोर मैला व्यवस्थापन तथा उद्योग परिसरमा बालउद्यान, पिकनिक स्पोट, गाईभैसी फर्म सञ्चालन गर्ने योजना रहेको नगर प्रमुख थापाले जानकारी दिए । प्रति घण्टा ५ टन फोहोर आवश्यक पर्ने भएकाले अहिले बेलकाको मात्र फोहोरले नपुग्ने भएकाले छिमेकी चौदण्डीगढी, बराहक्षेत्र नगरपालिकासँग पनि सहकार्य गर्न योजना बन्दै गरेको नगर प्रमुख थापाको भनाई छ ।


त्यतिले पनि फोहोर नपुग्ने देखेर नगरपालिकाले अनुदान दिएर गाईभैसी पाल्न लगाउने र त्यसको मल उद्योगले खपत गर्ने योजना रहेको उनले जानकारी दिए ।

 

पूर्ण क्षमतामा उद्योगलाई सञ्चालन गर्न प्रति घण्टा ५ टन फोहोर आवश्यक पर्ने र त्यसबाट ग्यास तथा मल उत्पादन गर्न सक्ने रिसोर्स एण्ड चेन्ज आरसिएम प्रालिका सञ्चालक डा. प्रेम थापाले जानकारी दिए । उद्योगमा घर तथा घर बाहिरका फोहोरहरु ल्याएर जैविक मल तथा ग्यास निमार्ण गर्न सकिने डा. थापाको भनाइ छ ।

 

बेलका, चौदण्डीगढी र छिमेकी जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिकाका फोहोरहरुलाई प्रशोधन गरेर मल तथा ग्यास निमार्ण गर्ने लक्ष्य लिएको छ । मल उत्पादनको उद्योग संचालन भएसँगै बेलकाले प्रांगारिक मल उत्पादनमा आवश्यक ल्याब परीक्षणको काम थालेको छ ।

 

बेलकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पनि यसले महत्वपूर्ण योगदान पु¥याउने बेलका नगरपालिका–९ का वडाध्यक्ष मोहन घिमिरेले बताए ।


बेलका नगरपालिकामा गौरवको योजना सञ्चालन भएसँगै स्थानीय स्तरमा नै रोजगार प्राप्त भएको उनले बताए । अहिले उद्योगबाट परीक्षण उत्पादन भइरहेको छ । यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको नगर प्रमुख थापाको भनाइ छ ।