close

बेनी बजार एक साताका लागि लकडाउन

बेनी बजार एक साताका लागि लकडाउन

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीमा लक्षणसहितका कोरोना संक्रमित भेटिने क्रम बढेपछि सदरमुकाम बेनी बजारमा शुक्रबार रातीदेखि लागू हुने गरी १ साताका लागि लकडाउन गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले १४ कात्तिक राती १२ देखि २१ कात्तिक राती १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो ।

 

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार लकडाउन गरिएको जानकारी दिए । 

 

म्याग्दी उद्योग वाणिज्य संघले पनि भीड नियन्त्रण र जोखिम न्यूनीकरणका लागि लकडाउन गर्न आग्रह गरेको थियो । बेनी नगरपालिका, वडा कार्यालय, सदरमुकामस्थित बैंक, वित्तीय संस्था र सरकारीहरूबाट प्रदान गरिने सेवा बन्द हुने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । 

 

औषधीबाहेकका पसहल खोल्न  बिहान ८ देखि १० बजेको समय तोकिएको छ । ‘सूचनामा उल्लिखित कार्यालय र संस्था खुल्छन् तर सेवा प्रवाह हुँदैन’, प्रजिअ अधिकारीले भने, ‘अन्य सरकारी कार्यालय र यातायात सेवामा लकडाउनले असर गर्दैन ।’

 

पसल, सरकारी कार्यालय र यातायातका साधन सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गरिने बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए । ‘अत्यावश्यक कामबाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक लगाइएको छ’, उनले भने । 

 

लकडाउन अवधिमा संक्रमित जिल्लाबाट म्याग्दीमा आउजाउ नगरिदिनसमेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् । केही दिनयता जिल्ला सदरमुकाम बेनी बजारका व्यवसायी, सहकारीका कर्मचारी र स्थानीयमा कोरोना संक्रमण क्रम बढेको छ ।